ऊर्जा उत्पादकका लागि पीपीए खोल्ने तयारी, शाहीको संयोजकत्वमा उपसमिति गठन
सात दिनभित्र पीपीए खोल्ने मापदण्ड तयार पारिने
काठमाडौं : सरकारले नयाँ विद्युत् खरिद सम्झौता (पीपीए) खोल्ने प्रक्रिया अघि बढाएको छ। नेपाल विद्युत् प्राधिकरणले पीपीएका लागि आवश्यक मापदण्ड तयार गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा उपसमिति गठन गर्ने निर्णय गरेको हो।
उपसमितिलाई सात दिनभित्र पीपीएसम्बन्धी मापदण्ड तयार गरी सञ्चालक समितिमा पेस गर्ने जिम्मेवारी दिइएको छ। उपसमितिमा विद्युत् विकास विभागका उपमहानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सिडिइ शालिग्राम भण्डारी र विज्ञ रिवाज शर्मा सदस्य छन्। प्राधिकरणको व्यापार शाखाका निर्देशकलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ।
सञ्चालक समितिले आर्थिक ऐन, २०८३ मा भएको व्यवस्था तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट गठित समितिको सिफारिसका आधारमा विद्यमान मापदण्डको अध्ययन र विश्लेषण गरी नयाँ मापदण्ड तयार गर्ने निर्णय गरेको हो। पीपीए खोल्ने विषयमा आवश्यक मापदण्ड तयार भएपछि प्राधिकरणले उत्पादन अनुमति प्राप्त ऊर्जा उत्पादकसँग विद्युत् खरिद सम्झौता गर्ने प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।
.gif)

.png)

