संविधानअनुसार बन्न बाँकी कानून सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्न बाँकी कानूनहरू सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ । आज (मंगलबार) सिंहदरबारमा बसेको बैठकले संविधानअनुसार बन्न बाँकी कानूनहरुको संसदमा ल्याउन भनि दिएको निर्देशनको कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्न नेकपा एकीकृत समाजवादीका सांसद डा. वेदुराम भुसालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।
समितिलाई अध्ययन प्रतिवेदन समितिमा पेश गर्न मंगलबारको मितिदेखि एक महिनाको समय दिइएको समिति सभापति तुलसा कुमारी दाहालले बताइन् । उनकाअनुसार उपसमितिले कुन मन्त्रालयले कति वटा विधेयक ल्याए र कति वटा विधेयक ल्याउन बाँकि छन् भन्न विषयमा अध्ययन गर्नेछ ।
उपसमितिले बुझाएको प्रतिवेदनको आधारमा सम्बन्धित मन्त्रालयलाई समितिले सुझाव तथा निर्देशन दाहालको भनाइ छ । केही ऐनहरु पञ्चायतकालका तथा संविधान बन्नुभन्दा पहिलेका समेत रहेको उल्लेख गर्दै उनले ति ऐनहरुलाई समसामयिक बनाउनका लागि मन्त्रालयहरुसँग आवश्यक छलफल र सहाकार्य गर्ने बताइन् ।
दलीय आधारमा समिति सदस्यहरु तोकिएको सभापति दाहालले बताइन् । समितिको सदस्यहरुमा नेकपा (माओवादी केन्द्र) बाट गंगाकुमारी बेल्वासे, नेकपा (एमाले) बाट गोपाल भट्टराई, नेपाली काँग्रेसको तर्फबाट विष्णुदेवि पुडासैनी र जनता समाजवादी पार्टी नेपालबाट मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।