रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाख ठगीको आरोप, पाँच जना पक्राउ

बोलपत्रविपरीत जग्गा खरिद, रेडक्रसको १ करोड ९३ लाख बिचौलियाको हातमा


२०८३ भदौ २ मंगलबार २०:०६ बजे

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। रेडस्रसका लागि गोदाम घर सञ्चालन गर्न भक्तपुर नगरपालिका–४ (क) मा खरिद गरिएको जग्गामा अनियमितता तथा ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका हुन्।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त रेडक्रस सोसाइटीसम्बन्धी अनियमितता छानबिन प्रतिवेदन अध्ययनपछि उनीहरूलाई पक्राउ गरिएको हो। छानबिनका क्रममा रेडक्रसले भक्तपुर नगरपालिका–४ (क) मा विभिन्न कित्ता नम्बरका जग्गा कुल ५–१३–३–० क्षेत्रफल खरिद गरेको र त्यसबापत ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरेको पाइएको छ।

तर, बोलपत्रमा उल्लेखित सर्तविपरीत मध्यस्थकर्ता (बिचौलिया) मार्फत जग्गा खरिद गरिएको र भुक्तानी भएको रकममध्ये १ करोड ९३ लाख ७५० रुपैयाँ मध्यस्थकर्ताले लिएको आरोप छ। नापी कार्यालय भक्तपुरकाअनुसार खरिद गरिएको जग्गाको क्षेत्रफल कागजातमा उल्लेख भएभन्दा कम रहेको पाइएको छ। नापीले फिल्डमा उक्त जग्गाको क्षेत्रफल ५–६–२–१ मात्र रहेको जनाएको छ।

बोलपत्रको सर्तविपरीत मध्यस्थकर्ता प्रयोग गरी जग्गा खरिद गरेको र संस्थालाई आर्थिक हानि–नोक्सानी पुर्‍याएको आरोपमा संलग्न पदाधिकारी, कर्मचारी तथा मध्यस्थकर्तामाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। भक्तपुर जिल्ला अदालतबाट अनुमति लिएर उनीहरूलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यसरी पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३, निकोसेरा बस्ने ५२ वर्षीय राजेश देशमरु, नुवाकोट समुन्द्रटार–६ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–२६ मा बस्ने ५७ वर्षीय उमेश प्रसाद ढकाल, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ बस्ने ५८ वर्षीय मदन कृष्ण फोजु, उदयपुर कटारी–३ स्थायी ठेगाना भई हाल मध्यपुर थिमी नगरपालिका–१ बस्ने ७० वर्षीय सञ्जिब थापा र काठमाडौं महानगरपालिका–१६, बालाजु बस्ने ६७ वर्षीय इन्द्रबहादुर केसी रहेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७