‘जनतालाई ग्यास छैन, मन्त्रीलाई हेलिकोप्टर-कस्तो सुशासन ?’
काठमाडौं : नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई बिरामी भएपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको विषयमा विरोध जनाएकी छन्। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै थापाले सरकारको असमान व्यवहारप्रति प्रश्न उठाएकी हुन्।
उनले मन्त्रीका लागि लाखौँ रुपैयाँ खर्च गरेर हेलिकोप्टरको व्यवस्था गर्न सक्ने सरकारले आर्थिक अभावमा रहेका नागरिकलाई सामान्य राहतसमेत उपलब्ध गराउन नसकेको आरोप लगाइन्।
‘काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर हेलिकोप्टरमा काठमाडौं ल्याइन्छ। मन्त्रीलाई ३०/३५ लाख खर्च गरेर ल्याउन सक्ने सरकारले ३ लाख खर्च गरेर जनतालाई राहत दिन सक्दैन,’ थापाले भनिन्।
उनले बिहान–बेलुकाको छाक टार्नसमेत कठिन भएका नागरिकलाई एक सिलिन्डर ग्याससमेत राज्यले उपलब्ध गराउन नसकेको भन्दै सरकारको सुशासनमाथि प्रश्न उठाइन्।
‘यो कस्तो सुशासन हो?’ उनले प्रश्न गरिन्। थापाले मन्त्री र सर्वसाधारण नागरिकको जीवनको मूल्य राज्यका लागि समान हुनुपर्ने बताइन्।
‘मन्त्रीको जीवन जति मूल्यवान छ, कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान छ। प्रधानमन्त्रीका लागि हेलिकोप्टर पुग्ने तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने? के यो समान राज्य हो? के यही हो जनताको सरकार?’ उनले प्रश्न गरिन्।
.gif)

.png)

