प्रधानमन्त्रीलाई मनिष झाको सुझाव: ‘ढंग पुगेन’, कालो चस्मा हटाउनुहोस्
प्रधानमन्त्रीलाई भने, ‘के थाहा छैन भन्ने पनि थाहा छैन भने तपाईंलाई केही थाहा छैन’
काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारको ‘ढंग’ नपुगेको टिप्पणी गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारको नियत र इमानदारीमाथि कुनै शंका नभए पनि राज्य सञ्चालनलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए।
झाले राज्य सञ्चालन, लोकतन्त्रको रक्षा र संविधानको संरक्षणका लागि राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वासलाई सरकारको मूलमन्त्र बनाउनुपर्ने धारणा राखे। 'राज्य सञ्चालन, लोकतन्त्रको रक्षा र संविधानको संरक्षणका लागि राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वासलाई मूलमन्त्र बनाएर अघि बढ्न सके धेरै उपलब्धि हासिल गर्न सकिन्छ,' उनले भने।
उनले आफूलाई सबै कुरा थाहा छ भन्ने मानसिकताले राज्य सञ्चालनमा समस्या निम्त्याउने भन्दै अज्ञानता स्वीकार गरेर सिक्ने संस्कार आवश्यक रहेको बताए। 'सरकारको इमानदारी वा नियतमाथि प्रश्न छैन। तर कतै न कतै ढंग पुगेनजस्तो लाग्छ, र त्यो स्वीकार्नुपर्छ। आफूलाई के थाहा छैन भन्ने पनि थाहा नभए वास्तवमै केही थाहा हुँदैन। त्यसैले थाहा नभएका कुरा सिक्नुपर्छ। जुन दिन सबै कुरा थाहा छ भन्ने लाग्छ, त्यही दिन समस्या सुरु हुन्छ,' उनले भने।
कम ज्ञान भएका व्यक्तिले आफ्नै क्षमतालाई धेरै मूल्यांकन गर्ने प्रवृत्ति देखाउन सक्ने भनेर पनि उनले सरकारलक्षित टिप्पणी गरे । उनले भने छन्, ‘इफ यु डन्ट नो, ह्वाट यु डन्ट नो, देम यु डन्ट रियल्ली नो, ह्वाट यु डन्ट नो ।’ अर्थात्, आफूलाई के थाहा छैन भन्ने कुरा आफैँले जाँनुपर्ने र त्यो कुरा सिक्नुपर्ने उनको आग्रह छ । गुगलको सीईओको सुन्दर विचार भन्दै उनले त्यो पनि सम्झिए, ‘द डे यु फिल द्याट यु ह्याभ लर्न एभ्रिथिङ यु आर अलमोस्ट डेड ।’
उनले नेपालको दिगोपनमा योगदान दिनेहरूमा मधेश, प्रवास र निजी क्षेत्र रहेको बताउँदै ती क्षेत्र सुरक्षित पार्न सरकारले ध्यान दिनुपर्ने बताए । ‘तर हेर्नुस् न दुर्भाग्य तिनै असुरक्षित छ । मधेसमा भर्खरै आगो बल्यो । हामीले जसो तसो निभाउन सक्यौं तर म सरकारलाई यही सम्मानित सदनबाट सन्देश दिन चाहन्छु, आगो निभेको हो, दाउरा निभ्या छैन’ उनले भने, ‘त्यहाँ २५ रुपैयाँको चिप्स खोसिन्छ । तर सन्तुलन छैन भन्ने कुरा हेर्नुस् न एयरपोर्टमा त ब्लु लेबल र ल्यापटप ल्याउन दिनुभएको छ । अनि मधेसको बोर्डरमा २५ रुपैयाँको चिप्स किन खोसिँदैछ ?’
.gif)

.png)

