सभापति रवि लामिछानेको निर्देशन विपरीत समूहगत राजनीतिक अभ्यास भयो: मनिष झा


२०८३ असार १२ शुक्रबार १५:१५ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र भइरहेको समूहगत राजनीतिक अभ्यासप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। सभापति रवि लामिछानेले समूहगत राजनीति नगर्न दिएको निर्देशन विपरीत केही नेताहरूले गुटबन्दी गरिरहेको बताउँदै झाले यसले पार्टीको गरिमा र सभापतिको नामलाई समेत बदनाम गरिरहेको उल्लेख गरे।

कबिन्द्र बुर्लाकोटी, गणेश पराजुली, जगदीश खरेल, रञ्जु दर्शना, प्रमोद न्यौपाने लगायतका नेताहरूले एकैपटक उम्मेदवारी फिर्ता लिएर विपिन कुमार आचार्यलाई समर्थन गरेपछि झाको यस्तो प्रतिक्रिया आएको हो।

झाले उम्मेदवारी फिर्ता लिने नेताहरूको निर्णयलाई 'आलोकाँचो राजनीति' भन्दै कडा आलोचना गरे। उनले भने, 'रवि दाइले यहाँ आएर समूहगत राजनीतिक अभ्यास नगर्नू है भन्नुभएको थियो। उहाँकै छायामा कसैले गर्दै हुनुहुन्छ भने सभापतिज्यूलाई जानकारी छैन, तर उहाँको नाम बदनाम गरिरहेको छ कसैले भनेर पनि हामीले सोच्न सक्छौं।'

दबाबमा परेर रातारात निर्णय फेर्ने प्रवृत्ति लोकतान्त्रिक अभ्यासका लागि अस्वस्थ रहेको जिकिर गर्दै उनले आफू आफ्नो अडानमा दृढ रहेको स्पष्ट पारे। उनले थपे, 'यो महाधिवेशनमा सबभन्दा पहिले उम्मेदवारी घोषणा गरेको मैले हो, महामन्त्रीमा उठ्छु भनेर। त्यसमा मेरो उम्मेदवारी यथावत् छ। यस्तो आलोकाँचो राजनीति पनि गर्न भएन, हिजो बेलुकी उम्मेदवारी दिने अहिले फिर्ता लिने।'

चुनावलाई एक 'फास्ट मुभिङ' प्रक्रियाका रूपमा लिएका झाले यसलाई कसैको नेतृत्वमाथि प्रश्न उठाउने अवसरभन्दा पनि समयले सिर्जना गरेको परिस्थितिका रूपमा बुझ्न आग्रह गरे। परिणाम जे भए पनि स्वस्थ र वैचारिक प्रतिस्पर्धामा जोड दिने उनले प्रष्ट पारे। उनले दृढताका साथ भने, 'फलानोको फोन आएपछि सोचौंला र सोधौंला भन्ने राजनीति हुँदैन। म सशक्त रूपमा लागेको छु र अघि बढेको छु।'

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७