देउवामाथि धरपकड भए प्रतिवाद गर्छौं : कोइराला


२०८३ श्रावण २२ शुक्रबार १८:१६ बजे

काठमाडौं :  नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा कुनै प्रकारको धरपकड भए पार्टीले कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भेलाबारे जानकारी दिँदै उनले साउन २९ देखि ३१ गतेसम्म हुने भेलामा पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री देउवा पनि सहभागी हुने बताए।

साउन २६ गते स्वदेश फर्किने देउवालाई सरकारले पक्राउ गर्न सक्ने सम्भावनाबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा कोइरालाले त्यस्तो सम्भावना नरहेको बताए। उनले भने, 'यदि धरपकड गरियो भने पार्टीले कडा प्रतिवाद गर्नेछ।'

कोइरालाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले न्यायिक पुनरावलोकनको अनुमति दिएकोमा खुशी व्यक्त गरे। देउवाको तर्फबाट दायर पुनरावलोकन निवेदनमा सर्वोच्चले साउन २१ गते अनुमति दिएको थियो।

अदालतको निर्णयलाई स्वागत गर्दै उनले अन्तिम न्याय निरूपणबाट पार्टीले न्याय पाउने विश्वास व्यक्त गरे। सर्वोच्चको पछिल्लो निर्णयले राष्ट्रिय भेलाको कार्यदिशामा कुनै परिवर्तन नल्याउने बरु कार्यकर्तामा थप उत्साह थपेको उनको भनाइ थियो।

'मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई वैचारिक र सांगठनिक रूपमा एकताबद्ध बनाउन यो भेला कोशेढुङ्गा सावित हुनेछ,' उनले भने। “पहिले १० देखि २० हजार सहभागी हुने अनुमान गरेका थियौँ। अदालतको निर्णयपछि पार्टी पंक्तिमा सकारात्मक सन्देश गएको छ र भेलामा उल्लेख्य सहभागिता हुने देखिएको छ।”

पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाको अनुपस्थितिबारे सोधिएको प्रश्नमा उनले पूर्णबहादुर खड्का अस्वस्थ रहेकाले र डा. शेखर कोइराला विराटनगरमा व्यस्त रहेकाले उपस्थित हुन नसकेको बताए। तर, दुवै नेताको यस अभियानमा पूर्ण समर्थन र ऐक्यबद्धता रहेको उनको दाबी थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७