सर्वोच्चबाट चक्रे मिलनलाई सफाइ


२०८३ श्रावण २२ शुक्रबार १३:४२ बजे

काठमाडौं :  गुण्डा नाइकेका रूपमा चिनिएका मिलन गुरुङ ‘चक्रे मिलन’ ले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्। बिहीबार न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतले गरेको सफाइको फैसला सदर गरेको हो। सर्वोच्चको यो फैसलासँगै विशेष अदालतको निर्णय ८ वर्षपछि अन्तिम भएको छ।

विशेष अदालतको फैसला बदर गर्न माग गर्दै सरकारले २०७५ जेठ ३० गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका आधारमा २०७० जेठमा चक्रे मिलनसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

गुरुङमाथि अवैध गतिविधिबाट सम्पत्ति आर्जन गरेको, धम्की दिएर रकम असुली गरेको र उक्त सम्पत्तिलाई वैधानिक देखाउन विभिन्न क्षेत्रमा लगानी गरेको आरोप लगाइएको थियो।

विभागले दायर गरेको अभियोगपत्रमा गुरुङले करिब ८ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी गरिएको थियो। काठमाडौंमा ७ आना जग्गा तथा परिवारका सदस्यका नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गासहित ७ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति रहेको विभागको दाबी थियो।

यसै मुद्दाका अर्का अभियुक्त राजीव गुरुङ ‘दीपक मनाङे’ ले भने २०७४ माघ १० गते नै सफाइ पाइसकेका छन्। अन्य अभियुक्त गणेश लामा, पर्शुराम बस्नेत र अभिषेक गिरीको मुद्दा भने अझै विचाराधीन छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७