सांसद यादवको मौनधारण, जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
काठमाडौं : नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको डेडिकेटेड ट्रमा सेन्टरको योजना हटाइएको भन्दै संसद् बैठकमा उभिएर मौन विरोध जनाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले ट्रमा सेन्टर निर्माणको प्रक्रिया २०७७ सालदेखि सुरु भएको र एकपटकको बजेटमा २० करोड रुपैयाँसम्म विनियोजन गरिएको बताए। त्यसका लागि चार बिघा जग्गासमेत छुट्याइएको उनको भनाइ थियो।
सरकारले मधेस प्रदेशमा ट्रमा सेन्टर निर्माण गर्ने घोषणा गरे पनि स्वास्थ्य मन्त्रालयले साउन १९ गतेको बैठकमा ढल्केबरको नाम उल्लेख नगरी अन्य स्थानको नाम लिएको भन्दै उनले आपत्ति जनाए।
'ढल्केबरमा प्रस्तावित डेडिकेटेड ट्रमा सेन्टर थियो। त्यो कहाँ हरायो ?' यादवले प्रश्न गरे। उनले ट्रमा सेन्टर ढल्केबरमै निर्माण हुनुपर्ने माग गर्दै माग सम्बोधन नभएसम्म दिनभर संसद्मै मौन विरोध गर्ने घोषणा गरेका थिए।
सभामुख डीपी अर्यालले यादवले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जवाफ दिन निर्देशन दिए। तर, सभामुखको आग्रहपछि पनि यादवले अर्थमन्त्री वा स्वास्थ्यमन्त्री आएर जवाफ दिनुपर्ने अडान राखे।
सभामुखले सरकारलाई जवाफ दिन निर्देशन दिएपछि सांसद यादव आफ्नो स्थानमा बसेका थिए। त्यसपछि सभामुखले सदनको कारबाही अघि बढाएका छन्।
.gif)

.png)

