सभापति लामिछानेको ‘कोर टिम’ आचार्यको पक्षमा उभिएपछि मनिष झा असन्तुष्ट

रवि लामिछानेलाई मनिष झाको आग्रह, ‘गुटबन्दीलाई कारबाही गर्नुस्’


२०८३ असार १२ शुक्रबार १५:४४ बजे

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री पदको निर्वाचनमा नयाँ राजनीतिक समीकरण देखिएको छ। सभापति रवि लामिछानेको ‘कोर टिम’ (संस्थापन पक्ष) का नेताहरूले सामूहिक रुपमा महामन्त्रीका उम्मेदवार विपिन कुमार आचार्यलाई खुलेर समर्थन गरेपछि पार्टीभित्रको प्रतिस्पर्धाले नयाँ मोड लिएको हो । 

महामन्त्री पदका लागि सुरुमा १० जनाभन्दा बढी नेताहरू चुनावी मैदानमा थिए। तर, मतदानको पूर्वसन्ध्यामा सभापति लामिछाने निकट मानिएका नेताहरूले विपिन कुमार आचार्यलाई समर्थन गर्ने निर्णय लिएपछि कवीन्द्र बुर्लाकोटी, गणेश पराजुली, प्रमोद न्यौपाने, रञ्जु दर्शना र जगदीश खरेल लगायतका उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

यस घटनापछि अर्का उम्मेदवार मनिष झाले नेतृत्वको ‘कोर टिम’ को कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। सभापति लामिछानेले महाधिवेशनमा समूहगत राजनीति नगर्न दिएको निर्देशनको धज्जी उडाउँदै केही नेताहरूले गुटबन्दी गरेको उनको आरोप छ।

पत्रकारहरूसँग कुरा गर्दै झाले भने, ‘रवि दाइले समूहगत राजनीतिक अभ्यास नगर्नू भन्नुभएको थियो। तर, उहाँकै छायामा कसैले यस्तो गर्दै हुनुहुन्छ भने सभापतिज्यूलाई जानकारी छैन, तर उहाँको नाम बदनाम गर्ने काम भइरहेको छ।’ 

झाले उम्मेदवारी फिर्ता लिएका नेताहरूलाई लक्षित गर्दै यसलाई 'आलोकाँचो राजनीति'को संज्ञा दिएका छन्। उनले भने, ‘यो महाधिवेशनमा सबभन्दा पहिले उम्मेदवारी घोषणा गरेको मैले हो। कसैको फोन आएकै भरमा उम्मेदवारी फिर्ता लिने काम आलोकाँचो राजनीति हो। फलानोको फोन आएपछि सोचौंला र सोधौंला भन्ने राजनीति हुँदैन, म सशक्त रूपमा लागेको छु।’ 

महामन्त्री पदमा मनिष झा, विपिन कुमार आचार्य, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ। रास्वपाका झन्डै ४,२०० प्रतिनिधिहरूले मतदान गर्ने यस प्रक्रियाले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनको छिनोफानो गर्नेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७