घृणायुक्त अभिव्यक्ति बन्द गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह


२०८२ असोज २३ बिहीबार ०८:३९ बजे

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले शान्तिसुरक्षाको व्यवस्थालाई मजबुत बनाउन र संयमित रहन सबै पक्षलाई आग्रह गरेको छ । 

आयोगले एक विज्ञप्ति प्रकाशित गरी अरुप्रति लक्षित घृणायुक्त अभिव्यक्ति बन्द गर्नसमेत आग्रह गरेको छ । 

‘हिंसात्मक गतिविधि, अरुप्रति लक्षित नकारात्मक टीकाटिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव खल्बलिने र राजनीतिक वातावरण समेत धुमिल हुने हुँदा यसबाट शान्तिसुरक्षा र विधिको शासनमाथि नै प्रतिकूल असर पर्न जान्छ’ आयोगले भनेको छ । 

भदौ २३ र २४ गतेको भएका हिंसात्मक कार्यमा मानव अधिकार उल्लंघनको घटनाको अनुसन्धानलाई तीव्रता दिइरहेको आयोगले जनाएको छ ।

सामाजिक सद्भाव कायम राख्न र जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन आयोगले राजनीतिक दल र समूहलाई आग्रह गरेको छ ।

आयोगले भनेको छ, 
मुलुकमा विकसित राजनीतिक घटनाक्रम, जेन्जी पुस्ताका समूहले आगामी दिनमा गर्ने भनिएको प्रदर्शन, विकसित परिस्थितिमा विभिन्न समूह, राजनीतिक दल र व्यक्तिहरुबाट अभिव्यक्त विचार र त्यसबाट शान्ति सुरक्षामा पार्न सक्ने प्रभाव तथा मानव अधिकारको उपभोगमा आउनसक्ने अवरोधका घटनाहरुलाई आयोगले गम्भीरतापूर्वक लिएको छ ।

गत भाद्र २३ र २४ गते भएको हिंसात्मक कार्य र आगजनीमा भएको मानव अधिकार उल्लंघनको घटनाको अनुसन्धानलाई तीव्रता दिनुका साथै विकसित परिस्थितिको अनुगमन गर्ने र सम्बन्धित निकायबाट तथ्य विवरण सङ्कलन गर्ने कामलाई आयोगले निरन्तरता दिइरहेको छ ।

हिंसात्मक गतिविधि, अरुप्रति लक्षित नकारात्मक टीकाटिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव खल्बलिने र राजनीतिक वातावरण समेत धुमिल हुने हुँदा यसबाट शान्तिसुरक्षा र विधिको शासनमाथि नै प्रतिकूल असर पर्न जान्छ। सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण गर्नु, विधिको शासन कायम गर्नु, सामाजिक सद्भाव कायम राख्दै जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत वर्तमान संक्रमणकालीन अवस्थालाई निकास दिनु राज्यका सम्बन्धित निकायको दायित्व र त्यस्तो प्रक्रियालाई सघाउनु आमनागरिकको समेत कर्तव्य हुन जान्छ ।

अतः विकसित परिस्थितिमा शान्तिसुरक्षा र विधिको शासनलाई मजबुत बनाउन सुरक्षा निकायको मनोबल उच्च बनाउँदै धैर्यता र संयमतापूर्वक आवश्यक कदमहरु चाल्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ । साथै, विभिन्न समूहले आगामी दिनमा गर्ने भनिएका प्रदर्शनलाई मर्यादित र संयमित बनाउन, अरुप्रति लक्षित घृणायुक्त अभिव्यक्ति बन्द गर्न, सामाजिक सद्भाव कायम राख्न र जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन आयोग राजनीतिक दल र समूहलाई आग्रह गर्दछ । यस प्रकारका कार्यमा सघाउन आयोग नागरिक समाज, सञ्चारकर्मी तथा मानव अधिकार समुदायलाई अपिल गर्दछ ।

डा. टीकाराम पोखरेल प्रवक्ता/सहसचिव
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७