मेस्सी उत्कृष्ट खेलाडी घोषित


२०८३ श्रावण ६ बुधबार १८:५७ बजे

काठमाडौं : अन्तरराष्ट्रिय खेल पत्रकार महासङ्घ (एआईपीएस)ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ।

एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीका अनुसार विश्वका १२१ देशका ४७२ खेल पत्रकारको मतदानका आधारमा मेस्सी उत्कृष्ट खेलाडी चुनिएका हुन्। मेस्सीले १,१७९ अंक प्राप्त गर्दै फ्रान्सका किलियन एम्बाप्पे (७१७ अंक) र इङ्ल्यान्डका जुड बेलिङ्घम (४७० अंक)लाई पछि पारे।

मतदानमा एआईपीएस कार्डधारी खेल पत्रकार तथा एआईपीएस विश्वकप हटलाइन कार्यक्रममा सहभागी पत्रकारहरूले उत्कृष्ट तीन खेलाडीलाई प्राथमिकताका आधारमा छनोट गरेका थिए। पहिलो स्थानका लागि पाँच, दोस्रोका लागि तीन र तेस्रोका लागि एक अंक दिने प्रणाली अपनाइएको थियो। जुलाई १३ मा सार्वजनिक अन्तिम सूचीमा २० खेलाडी समावेश थिए।

३९ वर्षीय मेस्सी विश्वकपको इतिहासमा छ संस्करण खेल्ने सीमित खेलाडीमध्ये एक बने। उनले विश्वकप २०२६ मा आठ खेलमा आठ गोल र चार असिस्ट गर्दै अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याउन निर्णायक भूमिका खेले। स्पेनसँगको फाइनल हारपछि भावुक बनेका मेस्सीले सामाजिक सञ्जालमार्फत पराजयको पीडा व्यक्त गर्दै टोलीले अन्तिमसम्म गरेको संघर्षलाई सधैं सम्झिरहने बताएका थिए।

विश्वकपपछि मेस्सीले आफ्नो नाममा थप ऐतिहासिक कीर्तिमान दर्ज गरेका छन्। पुरुष र महिला विश्वकप दुवैलाई समेट्दा उनी २१ गोलसहित विश्वकप इतिहासका दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन्। पहिलो स्थानमा रहेका एम्बाप्पेको नाममा २२ गोल छ।

मेस्सी विश्वकपमा १२ असिस्ट, ३४ खेल, २३ जित, नकआउट चरणका १७ खेल तथा लगातार नौ विश्वकप खेलमा गोल गर्ने कीर्तिमानका धनी पनि बनेका छन्। उनले किशोरावस्था, २० र ३० को दशकमा विश्वकपमा गोल गर्ने एकमात्र खेलाडीको कीर्तिमान पनि कायम गरेका छन्।

छ वटा विश्वकप खेलेका मेस्सीले अर्जेन्टिनालाई तीन पटक फाइनलमा पुर्‍याएका छन्। सन् २०२२ मा गोल्डेन बल जितेका उनले यस संस्करणमा सिल्भर बल पुरस्कार प्राप्त गरेका थिए।

फ्रान्सका कप्तान किलियन एम्बाप्पे दोस्रो स्थानमा रहे। २७ वर्षीय एम्बाप्पेले प्रतियोगितामा १० गोल गर्दै तीन विश्वकपमा आफ्नो कुल गोल संख्या २२ पुर्‍याए र विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाए।

फ्रान्स तेस्रो स्थानको खेलमा इङ्ल्यान्डसँग ६–४ ले पराजित भए पनि एम्बाप्पेले उक्त खेलमा दुई गोल गर्दै लगातार दोस्रो पटक गोल्डेन बुट जिते। उनी विश्वकपमा दुई पटक सर्वाधिक गोलकर्ता बन्ने पहिलो खेलाडीसमेत बने।

इङ्ल्यान्डका २३ वर्षीय मिडफिल्डर जुड बेलिङ्घम तेस्रो स्थानमा रहे। उनले विश्वकपमा सात गोल गर्दै इङ्ल्यान्डलाई तेस्रो स्थान दिलाउन महत्त्वपूर्ण भूमिका खेले।

विश्वकप इतिहासमा कुनै मिडफिल्डरले एक संस्करणमा गरेको यो सर्वाधिक गोल हो। उनले एकै विश्वकपमा सर्वाधिक गोल गर्ने इङ्लिस खेलाडीको कीर्तिमान पनि बनाए।

बेलिङ्घमले अन्तिम १६ मा मेक्सिकोविरुद्ध र क्वार्टरफाइनलमा नर्वेविरुद्ध दुई–दुई गोल गर्दै सन् १९८६ मा डिएगो म्याराडोनापछि लगातार दुई नकआउट खेलमा दुई गोल गर्ने पहिलो खेलाडी बन्ने उपलब्धिसमेत हासिल गरे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७