अब रास्वपा सांसदको कामको डिजिटल ट्रयाकिङ
सांसदहरूलाई 'पल्स आरएसपी' मा अनिवार्य अद्यावधिक गर्न निर्देशन
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको दैनिक गतिविधि, कार्यसम्पादन तथा नागरिकहरूसँगको संवादलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले ‘पल्स आरएसपी’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने भएको छ।
पार्टीलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने रणनीति अनुरुप विकसित यस प्रणालीबारे जानकारी दिन पार्टीले शुक्रबार बिहान १०:३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आफ्ना प्रतिनिधिसभा सदस्यहरूका लागि एक अभिमुखीकरण बैठक आयोजना गरेको छ। पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा सम्पन्न हुने उक्त बैठकमा प्रणालीको प्रयोग विधि र यसका विविध पक्षबारे छलफल हुनेछ।
मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार, उक्त अभिमुखीकरण पश्चात् रास्वपाका प्रत्येक सांसदले आफ्ना दैनिक संसदीय गतिविधिहरू अनिवार्य रूपमा ‘पल्स आरएसपी’ प्रणालीमा अद्यावधिक गर्नुपर्नेछ। यस प्रणालीमा सांसदहरूले संसदमा उठाउने विषयवस्तु, निर्वाचन क्षेत्र भ्रमणका विवरण तथा नागरिकसँगको भेटघाटका तालिका समेत व्यवस्थापन गर्नुपर्नेछ।
विशेषगरी, नागरिकहरूले यसै डिजिटल माध्यममार्फत सीधै सम्बन्धित निर्वाचन क्षेत्रका सांसदसँग भेटघाटको समय लिन, गुनासा वा सुझावहरू राख्न सक्नेछन्। दर्ता गरिएका गुनासाहरूको ‘ट्र्याकिङ’ गर्ने र प्राप्त सुझाव तथा कार्यप्रगतिका आधारमा सांसदहरूको कार्यसम्पादन मूल्याङ्कन गरिने व्यवस्थाले पार्टीभित्रको जवाफदेहिता थप मजबुत हुने रास्वपाले जनाएको छ।
.gif)

.png)

