कांग्रेस एकताको कसरत: १५ औं महाधिवेशनमा सहभागी हुन देउवा–कोइराला पक्ष सकारात्मक


२०८३ असार १८ बिहीबार १२:१६ बजे

काठमाडौँ: नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गरी आगामी १५ औं महाधिवेशनलाई निष्पक्ष र सर्वसहमत बनाउने उद्देश्यले शीर्ष नेताहरूबीचको संवादले तीव्रता पाएको छ।

विशेष महाधिवेशनपछि देखिएको मतभेदलाई चिर्दै पार्टीलाई एकढिक्का बनाउन सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरेले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरू पूर्णबहादुर खड्का, शेखर कोइराला र कृष्णप्रसाद सिटौलासँग निरन्तर भेटवार्ता गरिरहेका छन्।

संस्थापन इतर समूहले पार्टी एकताका लागि विभिन्न प्रस्तावहरू अघि सारेको छ। नेता पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलाको समूहले १४ औं महाधिवेशनबाट निर्वाचित १११ जना नेताहरूलाई केन्द्रीय समितिमा समेट्न विधानको धारा निलम्बन गर्नुपर्ने वा एकता समिति गठन गर्नुपर्ने प्रस्ताव राखेको छ।

त्यसैगरी, नेता शेखर कोइरालाले विधानअनुसार दुई कार्यसमितिहरू मर्ज गर्न सम्भव नभएमा सबै पक्षको प्रतिनिधित्व हुने गरी एक उच्चस्तरीय संयन्त्र गठन गरेर महाधिवेशनका काम अघि बढाउन प्रस्ताव गरेका छन्। साथै, उनीहरूले महाधिवेशन निष्पक्ष सुनिश्चित गर्न निर्वाचन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समितिमा समेत आफ्नो पक्षको सहभागिता हुनुपर्ने बटमलाइन राखेका छन्।

यद्यपि, सभापति गगन थापाले १४ औं महाधिवेशन र विशेष महाधिवेशनबाट आएका कार्यसमितिहरूलाई समायोजन (मर्ज) गर्ने कुरा विधानविपरीत हुने भन्दै स्पष्ट रूपमा अस्वीकार गरेका छन्। यसका बाबजुद महामन्त्री गुरुराज घिमिरेले विधानको परिधिभित्र रहेर लचकता अपनाउन र मतभेद अन्त्य गरी तार्किक निष्कर्षमा पुग्न पार्टी नेतृत्व प्रतिबद्ध रहेको बताएका छन्।

संस्थापन इतर समूहका निवर्तमान सहमहामन्त्री किशोरसिंह राठोरले समेत क्रियाशील सदस्यता अद्यावधिक गर्ने र पार्टीमै रहेर संघर्ष गर्ने अभिव्यक्ति दिएपछि सो समूहमा नयाँ तरंग देखिएको छ, जसले विवाद तार्किक निष्कर्षतर्फ उन्मुख हुने सम्भावना बढाएको छ। कांग्रेसले आगामी असोजमा १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७