पार्टी पुनर्गठन संस्थागत निर्णय हो : शंकर पोखरेल


२०८३ असार १ सोमबार १६:१२ बजे

काठमाडौं: नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठनको प्रक्रिया पार्टीको औपचारिक र संस्थागत निर्णय भएको प्रष्ट पार्दै यसलाई विवादका रूपमा नबुझ्न आग्रह गरेका छन्। सोमबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीभित्र मत, मतामत वा सहमति-असहमति रहेको भन्ने चर्चालाई पूर्णतः खण्डन गरेका छन्।

महासचिव पोखरेलले आम निर्वाचन २०८२ को समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा सुदृढ बनाउन अब नयाँ ढंगले अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले भने, 'वैचारिक, राजनीतिक र संगठनात्मक हिसाबले पार्टीलाई थप एकताबद्ध बनाउनु अहिलेको आवश्यकता हो। यथास्थितिमा यो सम्भव छैन, त्यसैले पार्टीमा शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरण आवश्यक छ।'  यी तीनवटै उद्देश्य प्राप्तिका लागि पार्टीले विशेष कार्ययोजना बनाइरहेको र त्यसका लागि एउटा कार्यदलले काम सुरु गरिसकेको उनले जानकारी दिए।

कार्यदलले पार्टी पंक्तिको भावनालाई प्रतिनिधित्व गर्दै सुझाव संकलन गरिरहेको बताउँदै महासचिव पोखरेलले थपे, 'अहिले पार्टी कुनै पनि निष्कर्षमा पुगिसकेको छैन, यो केवल छलफलको चरण हो। यस्तो अवस्थामा पार्टीभित्र भीषण समस्या वा विवाद छ भनी गरिएको प्रचार पार्टी पंक्तिलाई उद्धेलित गर्ने खालको छ, जुन उचित छैन।'

महासचिव पोखरेलले पार्टी अहिले जुन बाटोमा अघि बढेको छ, त्यो पार्टीको औपचारिक र संस्थागत निर्णय भएको दोहोर्‍याउँदै यस सम्बन्धमा भइरहेका विभिन्न टिका-टिप्पणीहरू आधारहीन र भ्रमपूर्ण रहेको प्रष्ट पारेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७