गुन्डुमा ओलीको असहिष्णु टिप्पणी: विष्णु पौडेल ‘पापी’, शंकर पोखरेल ‘लोभी’
आफुले केही कमजोरी नगरेको ओलीको जिकिर
काठमाडौँ : नेकपा (एमाले) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दोस्रो र तेस्रो वरीयताका नेताहरूमाथि अराजनीतिक र असहिष्णु टिप्पणी गरेका छन् । चुनावी समीक्षा र पुनर्गठन कार्यदलको बागमती प्रदेश भेलामा बहुसङ्ख्यक नेताहरूले आफ्नो बिदाइको माग गरेलगत्तै आक्रोशित बनेका ओलीले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलमाथि असहिष्णु टिप्पणी गरेका हुन्।
कार्यदलको बैठक सकिएलगत्तै आफूलाई भेट्न भक्तपुरको गुन्डुस्थित निवास पुगेका अगुवा नेता तथा कार्यकर्ताहरूमाझ ओलीले पौडेल र पोखरेलप्रति कडा असन्तुष्टि जनाए। भेटमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार ओलीले दुई शीर्ष नेतामध्ये उपाध्यक्ष पौडेललाई ‘पापी’ र महासचिव पोखरेललाई ‘लोभी’ को संज्ञा दिँदै ‘लोभीपापी’ हरूले पुनर्गठनका नाममा पार्टी नै फुटाउन खोजेको गम्भीर आरोप लगाएका छन्।
'अहिले एमालेमाथि चारैतिरबाट हमला भइरहेका बेला पुनर्गठनका नाममा पार्टीलाई फुटाउन खोजिँदैछ, तपाईंहरू सचेत रहनुस्,' ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, 'अहिले कोही लोभी, कोही पापी भएर निस्किए। त्यसैले अहिलेलाई म केही भन्दिनँ, रामराम मात्रै भन्न सक्छु तर काँधै त थाप्न सक्दिनँ।' ओलीले विष्णु र शंकरको लामो आलोचना गरेका थिए । ‘शंकर लोभी हुन्, विष्णु पापी हुन्,’ ओलीले भनेका थिए, ‘यिनीहरूले पार्टीमा संकट ल्याउन खोज्दैछन् ।’
शनिबार काठमाडौँको जडीबुटीमा आयोजित बागमती प्रदेशको सुझाव सङ्कलन बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूले ओलीको बिदाइ र नेतृत्व पुनर्गठनको पक्षमा दह्रो मत राखेका थिए।
विवाद केन्द्रीय कमिटीमा ‘फेस’ गर्ने ओलीको चुनौती
पार्टीभित्र आफूविरुद्ध बलियो मोर्चाबन्दी कसिँदै गएपछि अध्यक्ष ओलीले अब यो विवादलाई केन्द्रीय कमिटीमा लैजाने स्पष्ट सङ्केत गरेका छन्। आफूले कुनै गल्ती नगरेको दाबी गर्दै उनले नेतृत्वबाट हटाउन भइरहेको प्रयासको सामना केन्द्रीय कमिटीमै गर्ने बताएका छन्। 'मैले के गल्ती गरेको छु र अध्यक्षबाट हटाउन? म सबै कुरा केन्द्रीय कमिटीमा बताउँछु, त्यहीँ फेस गर्छु,' ओलीले कार्यकर्तामाझ भने, 'पार्टीको महत्त्वपूर्ण थलो त्यही हो, त्यसले विवेकसम्मत निर्णय गर्ला।'
बैठकमा केन्द्रीय सदस्य गोकुल बास्कोटाले अविलम्ब नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए। केन्द्रीय सदस्य आनन्द पोखरेलले पार्टी पुनर्गठन सम्बन्धी मार्गचित्र प्रस्तुत गर्दै लिखित प्रस्ताव नै बैठकमा राखेका थिए। केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले पनि नेतृत्व पुनर्गठनको पक्षमै धारणा राखेका थिए। निर्वाचन परिणाम, एमाले आन्दोलनको गम्भीर समीक्षा गरी उपयुक्त कदम चाल्नुपर्ने सुझाव दिएका थिए।
बैठकमा महासचिव शंकर पोखरेलले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका सन्दर्भमा महत्त्वपूर्ण सुझाव प्राप्त भएको बताएका थिए । ‘बागमती प्रदेश संगठन कमिटीको दोस्रो बैठक तथा बागमती प्रदेशको आयोजनामा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका सम्बन्धमा सुझाव संकलन कार्यक्रम सम्पन्न भयो। सुझाव संकलन कार्यक्रममा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका सन्दर्भमा महत्त्वपूर्ण सुझाव प्राप्त भएका छन्,’ उनले भनेका थिए ।
त्यस्तै, उपाध्यक्ष विष्णु पौडेलले आम निर्वाचन–२०८२ को वस्तुनिष्ठ समीक्षा गरिने बताउँदै नेकपा (एमाले) को गुमेको जनमत र प्रतिष्ठा पुनर्स्थापित हुने गरी पार्टी पुनर्गठनको अभिभारा पूरा गर्न आफूहरू पूर्ण रूपमा सक्षम रहेको दाबी गरेका छन्। शीर्ष नेताहरू नै ओलीको बहिर्गमनको पक्षमा उभिएपछि एमालेभित्रको शक्ति सङ्घर्ष नयाँ मोडमा पुगेको छ।
.gif)

.png)

