काठमाडौं सडकमा आजदेखि उबर

उबर हाल विश्वका ७० भन्दा बढी देशका १५ सय भन्दा बढी सहरहरूमा सञ्चालित छन्


२०८३ जेठ २२ शुक्रबार १५:१७ बजे

काठमाडौँ, २२ जेठ:  विश्वकै अग्रणी र चर्चित राइड-हेलिङ कम्पनी 'उबर'ले नेपालमा औपचारिक रूपमा आफ्नो व्यावसायिक सेवा सुरु गरेको छ। शुक्रबार एक विशेष घोषणा गर्दै उबर नेपालले नेपाली बजारमा आधिकारिक रूपमा प्रवेश गरेको जानकारी दिएको हो।

यससँगै नेपाल एसिया-प्रशान्त क्षेत्रमा उबरको ११औँ बजार बनेको छ भने दक्षिण एसियामा पछिल्लो एक दशकयता कम्पनीले प्रवेश गरेको यो पहिलो नयाँ मुलुक हो। उबरले नेपाली यात्रुहरूका लागि चारपाङ्ग्रे सवारीतर्फ 'उबर गो'  र 'उबर कन्फर्ट' तथा दुईपाङ्ग्रे सवारीका लागि 'बाइक' सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

हाल विश्वका ७० भन्दा बढी देशहरूमा सञ्चालित उबरले नेपाललाई आफ्नो विश्वव्यापी नेटवर्कमा जोडेको छ। यसबाट स्थानीय बासिन्दा मात्र नभई नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूले समेत आफ्नै स्मार्टफोनमा रहेको एउटै वैश्विक एपमार्फत सहज, सरल र भरपर्दो यात्रा सेवा प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ।

उबरका एपीएसी क्षेत्रीय महाप्रबन्धक (राइड्स) डोमिनिक टाइलरले नेपाल तीव्र सहरीकरण, बढ्दो डिजिटल पहुँच र पर्यटन विकासका कारण उबरका लागि निकै महत्त्वपूर्ण र सम्भावनायुक्त बजार भएको बताएका छन्। उनले नेपालको गतिशील अर्थतन्त्र र पर्यटन क्षेत्रसँग सहकार्य गर्दै यहाँका यात्रु, चालक साझेदार र आगन्तुकहरूको आवश्यकता पूरा गर्न कम्पनी पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे।

स्मार्टफोन प्रयोगकर्ताहरूको वृद्धि, डिजिटल साक्षरता र आधुनिक यातायात सेवाको बढ्दो मागलाई सम्बोधन गर्दै उबरले स्थानीय आवश्यकता अनुरूप सेवा परिमार्जन गर्दै लैजाने र नेपालमा दीर्घकालीन उपस्थितिको लक्ष्य राखेको जनाएको छ।

उद्योग विभागको अभिलेख अनुसार उबर नेपालमा २०७४ साल साउन १ गते नै दर्ता भएको भए पनि लामो आन्तरिक तयारी र कानुनी प्रक्रिया पश्चात् अहिले औपचारिक रूपमा सेवा सञ्चालनमा आएको हो।

उबर हाल विश्वका ७० भन्दा बढी देशका १५,००० भन्दा बढी सहरहरूमा सञ्चालित छ। नेपाल यो ११औँ क्षेत्रीय बजारका रूपमा जोडिएपछि विश्वभरका पर्यटकहरूले काठमाडौँमा ओर्लिने बित्तिकै आफ्नै देशको उबर एप सहजै प्रयोग गर्न सक्नेछन्, जसले नेपालको पर्यटन कूटनीति र डिजिटल अर्थतन्त्रलाई बलियो बनाउने विश्वास सरकारी अधिकारीहरूले समेत गरेका छन्। दक्षिण एसियाली देशहरूमा पछिल्लो एक दशकयता उबरले विस्तार गरेको यो नै पहिलो नयाँ बजार हो। यसअघि भारत, बंगलादेश र श्रीलंका जस्ता छिमेकी देशहरूमा उबर निकै लोकप्रिय भइसकेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७