भोजपुर–दिङ्ला सडकखण्डमा कालोपत्र सुरु
बिरामी ओसारपसार, कृषि उपज ढुवानी र दैनिक जनजीवनमा निकै सास्ती
भोजपुर: भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्ला जोड्ने 'भोजपुर–दिङ्ला' सडकखण्डमा कालोपत्र गर्ने काम सुरु भएको छ। पूर्वाधार विकास कार्यालयका अनुसार हाल सडकलाई दुई खण्डमा विभाजन गरेर द्रुत गतिमा निर्माण अघि बढाइएको हो।
कार्यालय प्रमुख राजनराज रेड्डीका अनुसार पहिलो खण्ड अन्तर्गत पानीट्याङ्कीदेखि तीनतलेसम्मको करिब १७ किलोमिटर सडकमा कालोपत्र थालिएको छ। यो सडकको हालसम्मको भौतिक प्रगति करिब ५५ प्रतिशत पुगेको उनले बताएका छन्।
कोशी प्रदेश सरकारको करिब ६२ करोड रुपैयाँ लगानीमा भइरहेको यो खण्डको काम सम्झौता अनुसार आगामी फागुनभित्र सक्नुपर्नेछ। गुणस्तरलाई ध्यान दिँदै तोकिएको समयमै काम सक्न कार्यालयले नियमित अनुगमन र सहजीकरण गरिरहेको उनले उल्लेख गरेका छन्।
यस्तै, दोस्रो खण्ड अन्तर्गत तीनतलेदेखि दिङ्लासम्मको करिब १६.५ किलोमिटर सडक निर्माण पनि भइरहेको छ। वि.सं. २०८० मंसिरदेखि सुरु भएको यो आयोजना अन्तर्गत वर्षामा हिलो र हिउँदमा धुलोका कारण बिरामी ओसारपसार, कृषि उपज ढुवानी र दैनिक जनजीवनमा निकै सास्ती हुँदै आएको थियो। सडक कालोपत्र हुन थालेपछि धुलो र हिलोको समस्या अन्त्य भएको स्थानीय भीमप्रसाद राईले बताएका छन्।
निर्माण कम्पनीका प्रमुख श्याम श्रेष्ठले वर्षातले असर नगरे सम्झौता अवधि अगावै काम सम्पन्न गर्ने लक्ष्य राखेको जानकारी दिएका छन्। यो सडक आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि जिल्लाको उत्तरी क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासमा ठूलो टेवा पुग्ने स्थानीयको अपेक्षा छ।
.gif)

.png)

