ट्र्याक खुलेको २६ वर्षपछि कालोपत्र, स्थानीयमा उत्साह


२०८२ फाल्गुण १३ बुधबार ०८:१५ बजे

ढोरपाटन (बागलुङ) , १३ फागुन ट्र्याक खुलेको झण्डै २६ वर्षपछि ग्रामीण सडक कालोपत्र भएपछि स्थानीयवासीमा उत्साह छाएको छ। जिल्ला सदरमुकामसँग जोडिएका मूलपानी–तितौरे, ओडारचौर–ढोडेनी र गणेशघुम्ती–निरयघाट सडक कालोपत्र सम्पन्न भएसँगै यात्रा र सामान ढुवानी सहज भएको हो। 

सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत मूलपानी–तितौरे सडकको ८.५ किलोमिटर, ओडारचौर–ढोडेनी सडकको २. ५ किलोमिटर र गणेशघुम्ती–निरयघाट खण्डको १.५ किलोमिटर गरी कुल १२.२ किलोमिटर सडक कालोपत्र गरिएको छ।

विश्व बैंकको रु ४८ करोड अनुदान सहयोगमा सडक निर्माण गरिएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए।  उनका अनुसार सडक स्तरोन्नतिसँगै ग्रामीण जनतालाई आवतजावतमा सहजता मात्रै होइन, स्थानीय उत्पादनको बजारीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

‘ट्र्याक खुलेको धेरै वर्ष बितिसक्दा पनि कालोपत्र नहुँदा धुलो र हिलोको समस्या चर्को थियो। यात्रा र ढुवानी दुवै कठिन थियो,’ प्रमुख श्रेष्ठले भने, ‘अब कालोपत्र सडकले स्थानीयको दैनिकी सहज बनाउने र आर्थिक गतिविधि बढाउने विश्वास लिएका छौँ।’

तीनवटै सडकले बागलुङ नगरपालिका–१, ४ र ७ नम्बर वडालाई जोडेको छ। सडक कालोपत्र भएपछि धुलो र हिलोको समस्याबाट मुक्त भएको स्थानीय तुलसी सापकोटाले बताए । ‘केही महिनाअघि घरअगाडि गाडी गुड्दा धुलो भान्सासम्म पुग्थ्यो, वर्षामा हिलोले हैरान बनाउँथ्यो। अहिले सडक चिटिक्क बनेको छ,’ उनले भने । 

अर्का स्थानीय प्रेम विकका अनुसार अब बागलुङ बजार पुग्न समय आधाभन्दा कम लाग्ने भएको छ। 'पहिले साँघुरो र अप्ठ्यारो सडकका कारण साढे एक घण्टा लाग्थ्यो, अब २५–३० मिनेटमै बजार झर्न सकिन्छ,' उनले भने ।

दीर्घ प्रतीक्षापछि सम्पन्न भएको सडक कालोपत्रले स्थानीयको जीवनस्तर उकास्न र ग्रामीण अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७