हजार किलोमिटर सडक कालोपत्र र २७५ पुल निर्माणको घोषणा
पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिका लागि ३७ अर्ब ४६ करोड, काठमाडौँ–तराई द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड विनियोजन
काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा देशैभर करिब एक हजार किलोमिटर सडक कालोपत्र गर्ने र २७५ वटा सडक पुल निर्माण गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य लिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै कुल एक हजार २८ किलोमिटर लामो पूर्वपश्चिम राजमार्गलाई पाँच वर्षभित्र चार लेनमा स्तरोन्नति गरिसक्ने घोषणा गरेका हुन्।
गुड्ने सवारीको चापलाई मध्यनजर गर्दै यसै वर्ष कमला–कञ्चनपुर तथा नारायणगढ–बुटवल सडकखण्ड स्तरोन्नतिको कार्य पूर्ण रूपमा सम्पन्न गरिने बजेटमा उल्लेख छ। यो राजमार्गका विभिन्न खण्डहरूको स्तरोन्नति तथा अध्ययनका लागि सरकारले कुल ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) का लागि सरकारले १७ अर्ब ६४ करोड रुपैयाँ छुट्टाएको छ, जसअन्तर्गत आगामी वर्ष ४० वटा पुल र ५.४ किलोमिटर सुरुङ निर्माणको काम सकिनेछ। यस्तै, वर्षौँदेखि प्रतिक्षित नागढुङ्गा सुरुङमार्ग आगामी साउन महिनादेखि नै सञ्चालनमा ल्याइने घोषणा अर्थमन्त्री वाग्लेले गरेका छन्।
बजेटमा हुलाकी राजमार्गलाई आगामी तीन वर्षभित्र सम्पन्न गर्न ४ अर्ब ६५ करोड, कर्णाली राजमार्गका लागि १ अर्ब, पुष्पलाल मध्यपहाडी राजमार्गका लागि २ अर्ब १६ करोड र मदन भण्डारी राजमार्गका लागि १ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ। मुख्य राजमार्ग र रणनीतिक सडकका ४० वटा ठूला पुलसहित स्थानीय सडक पुलका लागि ९ अर्ब ८७ करोड बजेट छुट्टाइएको छ।
सडक सञ्जालको आधुनिकीकरणअन्तर्गत पृथ्वी राजमार्गको आबुखैरेनीदेखि पोखरासम्मको चार लेन सडक निर्माणलाई तीव्रता दिइनेछ भने नागढुङ्गा–मुग्लिन खण्डको ४० किलोमिटर सडक स्तरोन्नति गरिनेछ। यी खण्डहरूका लागि कुल ६ अर्ब ५५ करोड रुपैयाँ व्यवस्था गरिएको छ। छिमेकी देशहरूसँगको व्यापार सहज बनाउन उत्तर-दक्षिण जोड्ने कर्णाली, कालीगण्डकी र कोशी करिडोरका लागि संयुक्त रूपमा ६ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
यसका साथै गल्छी–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड स्तरोन्नतिका लागि १ अर्ब ३५ करोड छुट्याउँदै सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डलाई द्रुतमार्गका रूपमा विकास गर्ने कार्य प्रारम्भ गरिने बजेटमा उल्लेख छ।
.gif)

.png)

