कमीकमजोरी भए होलान्, तर सङ्घीय गणतन्त्रको विकल्प अरू हुन सक्दैन : मुख्यमन्त्री शाह

के जेनजी आन्दोलनको भावना अनुसार बदलिँदै छ देश ?


२०८३ जेठ १० आइतबार १०:०६ बजे

काठमाडौँः नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १९ वर्ष पूरा भएको छ। विसं २०६२/६३ को ऐतिहासिक राजनीतिक परिवर्तनपछि २०६५ साल जेठ १५ गते देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो। यो व्यवस्था लागू भएपछि देशमा तीन तहका सरकार क्रियाशील रहे पनि जनअपेक्षा अनुसार काम हुन नसक्दा र राजनीतिक स्थिरता तथा सुशासन कायम नहुँदा प्रणालीमाथि नै बेलाबखत नकारात्मक टिप्पणी हुने गरेको छ।

पछिल्लो समय गत भदौ २३ र २४ गते भएको 'जेनजी' आन्दोलनपछि तत्कालीन प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचन सम्पन्न भएको थियो। उक्त चुनावमार्फत जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दुई तिहाइ नजिकको मतसहित सबैभन्दा ठुलो दल बनाएका छन्।

यसै सन्दर्भमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता कमलबहादुर शाहले गणतन्त्र संस्थागत गर्न प्रदेश सरकारले गरेका प्रयास र चुनौतीबारे आफ्ना धारणा राखेका छन्। मुख्यमन्त्री शाहले सङ्घीयता लागू भएपछि जनताले आफ्ना हकअधिकार स्थापित गर्न र विकासका कामलाई अघि बढाउन स्पष्ट मार्ग पाएको बताएका छन्। संवाद र छलफलका माध्यमबाट राजनीतिक असहमति सुल्झाउन र शिक्षा, स्वास्थ्य एवं पूर्वाधार विकासमा यो व्यवस्था फलदायी भएको उनको अनुभव छ।

तर, व्यवस्था कार्यान्वयनमा निकै चुनौतीहरू पनि देखिएका छन्। मुख्यमन्त्री शाहका अनुसार ऐन नियमहरू संशोधन गर्ने प्रक्रिया निकै सुस्त हुनु र तीन तहका सरकारको अधिकार क्षेत्रमा स्पष्टता नहुँदा अन्योल सिर्जना भएको छ। सङ्घीय सरकारले शिक्षा, निजामती, प्रहरी प्रशासन र वनसम्बन्धी कानुनहरू आवश्यक गतिमा बनाउन नसक्दा प्रदेश सरकारहरूले बाधा र अन्योल बेहोर्नुपरेको उनले बताएका छन्।

नागरिक तहबाट हुने नकारात्मक टिप्पणीबारे आत्मसमीक्षा गर्दै उनले भनेका छन्, 'हामी जनप्रतिनिधि र नेतृत्व तहले मुलुकको संविधानको भावना अनुसार काम गर्न नसकेका कारण केही प्रश्न उत्पन्न भएका हुन्, जनतालाई डेलिभरी दिएर विश्वास जित्ने वातावरण बनाउन हामी कहीँ न कहीँ चुकेका छौँ।' यद्यपि, सङ्घीय गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था भएको र यसको कुनै विकल्प नभएको दाबी उनले गरे।

उनले सुदूरपश्चिमवासीलाई शुभकामना दिँदै मुख्यमन्त्री शाहले विगतका गल्ती र कमजोरी नदोहोर्‍याई अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले भनेका छन्, 'नागरिक तह र राज्य मिलेर नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन हामी सबै एकजुट भएर अगाडि बढ्नुपर्छ।'

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७