जङ्गली च्याउ खाँदा चितवनमा एकै परिवारका तीन चेपाङ बालबालिकाको मृत्यु
आमाबुबा सकुशल, ३ बालबालिकाको जङ्गली च्याउ खाँदा अकालमै मृत्यु
काठमाडौँः जङ्गली च्याउका विषयमा आवश्यक सचेतनाको अभावका कारण अकालमै ज्यान गुमाउने क्रम अझै रोकिन सकेको छैन। चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा गम्भीर बिरामी परेका एकै परिवारका तीन जना बालबालिकाको दुःखद निधन भएको छ। मृत्यु हुनेमा ९ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ रहेका छन्।
राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरले दिएको जानकारी अनुसार, ९ वर्षीया नमूनाको गत जेठ १ गते नै आफ्नै घरमा ज्यान गएको थियो। यसैगरी ११ वर्षीय सञ्जयको गत शनिबार राति उपचारकै क्रममा मृत्यु भयो भने १३ वर्षीया जेठी छोरी मनिताको आज बिहान ६ः०० बजे भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
यो दुःखद घटना गत वैशाख २९ गते सुरु भएको थियो। स्थानीय श्यामबहादुर चेपाङको पाँच जनाको परिवारले जङ्गलबाट खोजेर ल्याएको च्याउ बेलुका पकाएर खाएका थिए। च्याउ खाएलगत्तै परिवारका सदस्यहरू बिरामी पर्न थालेपछि गम्भीर अवस्थामा पुगेका तीनै जना बालबालिकालाई ढिलो गरी उपचारका लागि भरतपुर अस्पताल पुर्याइएको थियो।
विद्यालयका अनुसार मृतक बालबालिकाहरू सोही विद्यालयको फरक-फरक कक्षामा अध्ययनरत थिए। जसमध्ये नमूना कक्षा २ मा, सञ्जय कक्षा ३ मा र मनिता कक्षा ५ मा पढ्दै थिइन्। च्याउ खाए पनि बालबालिकाका बुबाआमा भने पूर्ण रूपमा सकुशल रहेका छन्। ज्यान गुमाएका दुई बालबालिकाको यसअघि नै दाहसंस्कार भइसकेको छ भने आज बिहान मृत्यु भएकी बालिका मनिताको शव बुझ्ने तयारी भइरहेको प्रधानाध्यापक मगरले बताएका छन्।
.gif)

.png)

