महामारीको जोखिम बढेपछि चितवनमा २२९ शव गाड्ने निर्णय
पहिचानका लागि डीएनए नमुना राखिने
चितवन : रसुवा भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी चितवनका विभिन्न स्थानबाट सङ्कलन गरिएका २३३ शवमध्ये पहिचान हुन नसकेका २२९ शव जमिनमुनि गाडेर व्यवस्थापन गरिने भएको छ।
चितवन जिल्ला प्रशासन कार्यालयका अनुसार पहिचान भएका चार शवबाहेक बाँकी शव लामो समयदेखि राखिएका कारण सड्न–गल्न थालेका छन्। शव कुहिँदै गएपछि दुर्गन्धसँगै संक्रमण तथा महामारी फैलिन सक्ने जोखिम बढेकाले यस्तो निर्णय गर्नुपरेको प्रशासनले जनाएको छ।
होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटीय क्षेत्रबाट सङ्कलन गरिएका शव तथा मानव अवशेष सड्न थालेपछि स्वास्थ्य क्षेत्रका विज्ञहरूले संक्रमण तथा महामारी फैलिन सक्ने जोखिमप्रति सचेत गराएका थिए।
विज्ञहरूको राय तथा स्वास्थ्य जोखिमको विश्लेषणका आधारमा शवलाई थप सड्न–गल्न नदिन तथा सुरक्षित र कानुनी प्रक्रियाबाट व्यवस्थापन गर्न निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला सुरक्षा समिति चितवनको शनिबार बिहान बसेको बैठकले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शव व्यवस्थापन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।
प्रशासनका अनुसार भविष्यमा शवको पहिचान गर्न सहज होस् भनेर प्रत्येक शवको डीएनए नमुना सङ्कलन गरिनेछ। साथै, प्रत्येक शवलाई छुट्टाछुट्टै सङ्केत नम्बर प्रदान गरी विस्तृत विवरणसहितको अभिलेख सुरक्षित राखिनेछ।
शवहरूको अन्तिम व्यवस्थापन भरतपुर महानगरपालिका–१ स्थित देवघाटको खुला क्षेत्रमा जमिनमुनि गाडेर गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले जारी गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन्। प्रशासनले स्वास्थ्य जोखिम र शवको अवस्था बिग्रँदै गएकाले बाध्यात्मक परिस्थितिमा जमिनमुनि व्यवस्थापन गर्नुपरेको जनाएको छ।
यस निर्णयबाट पीडित परिवारजनमा पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालय चितवनले क्षमायाचना गर्दै भविष्यमा पहिचानका लागि आवश्यक सबै अभिलेख तथा डीएनए नमुना सुरक्षित राखिने प्रतिबद्धता जनाएको छ।
.gif)

.png)

