अब घरबाटै पाउने भए भोजपुरबासीले जग्गाको नक्सा
मेरो कित्ता नामक इन्टरनेट पोर्टल सञ्चालनमा
काठमाडौँः आधुनिक प्रविधिको विस्तारसँगै भोजपुरका बासिन्दाले अब आफ्नै घरबाट जग्गाको नक्सा निकाल्न सक्ने भएका छन्। नापी विभाग मातहतका कार्यालयहरूले आफ्नो सेवालाई थप चुस्त, छरितो र पारदर्शी बनाउने लक्ष्यका साथ अनलाइनमार्फत यो सुविधा उपलब्ध गराउन थालेपछि स्थानीयलाई निकै सहज भएको हो।
यो नयाँ प्रणालीको सुरुआतसँगै अब सर्वसाधारणलाई नक्सा लिनकै लागि नापी कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटेको छ। इन्टरनेट सुविधा उपलब्ध भएको जुनसुकै ठाउँबाट मागिएका विवरणहरू प्रविष्ट गरेर आफ्नो जग्गाको नक्सा सजिलै हेर्न, सुरक्षित राख्न र छाप्न मिल्ने संयन्त्र बनाइएको नापी कार्यालय भोजपुरका हाकिम सागर गिरीले बताए।
कार्यालय प्रमुख गिरीका अनुसार गत साउन महिनादेखि 'मेरो कित्ता' नामक इन्टरनेट पोर्टल सञ्चालनमा ल्याएर घरबाटै नक्सा प्राप्त गर्ने प्रबन्ध मिलाइएको हो। भौगोलिक रूपमा विकट र ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि यो प्रविधि वरदान सावित भएको उनले उल्लेख गरे। 'हामीले नापीका सेवाहरूलाई प्रविधिसँग जोडेका छौँ,' प्रमुख गिरीले भने, 'नक्सा निकाल्न अब कार्यालय आउनै पर्दैन, अनलाइनबाटै सबै काम हुन्छ।'
डिजिटल प्रणाली लागू भएपछि सेवाग्राहीको समय र पैसा बचत हुनुका साथै प्रशासनिक पारदर्शीता समेत बढेको कार्यालयले जनाएको छ। अब नक्साका लागि घण्टौँ लाइनमा बस्नुपर्ने वा बिचौलियाको चक्कर काटेर अतिरिक्त रकम बुझाउनुपर्ने बेथितिको अन्त्य भएको दाबी गिरीले गरे।
यस अनलाइन प्रविधिबाट जग्गाको नक्सा निकाल्नका लागि सेवाग्राहीले आफ्नो जिल्ला, स्थानीय निकाय, वडा र कित्ता नम्बर जस्ता विवरणहरू वेबसाइटमा भर्नुपर्छ। विवरण सङ्कलन हुनासाथ प्रणालीले तुरुन्तै नक्सा देखाउने र त्यसलाई डाउनलोड गर्न मिल्ने बनाइएको छ। डिजिटल सेवाको विकासले सरकारी अड्डामा हुने सर्वसाधारणको घुइँचो घटेको छ भने कर्मचारीको कार्यक्षमतामा समेत सुधार आएको छ।
अहिले भोजपुरका स्थानीयहरूमा यो प्रविधिप्रति आकर्षण बढ्दै गएको देखिन्छ। इन्टरनेट र प्रविधिको ज्ञान भएका युवाहरूले यस प्रणालीबाट सिधै फाइदा लिइरहेका छन्। अनलाइन प्रविधिबारे सर्वसाधारणलाई सिकाउने र सचेतना फैलाउने काम भइरहेको नापी कार्यालयले स्पष्ट पारेको छ।
.gif)

.png)

