गुणस्तरीय काम गर्न निर्देशन दिँदा भोजपुरमा सव-इन्जिनियरमाथि कुटपिट, ६ पक्राउ
भोजपुर । विकास निर्माणको काम गुणस्तरीय बनाउन निर्देशन दिएका पूर्वाधार विकास कार्यालय भोजपुरका सव–इन्जिनियर आनन्दकुमार शाहमाथि कार्यस्थलमै सामूहिक रूपमा कुटपिट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
पूर्वाधार विकास कार्यालयका अनुसार भोजपुर–मानेभञ्ज्याङ–बैकुण्ठे–बाँसिखोरा–बालाङ्खा–रानिटार सडकअन्तर्गत रामप्रसादराई गाउँपालिका–७ स्थित ढडुवा–आरीखोला सडक निर्माण आयोजनाको स्थलगत अनुगमनका क्रममा सव–इन्जिनियर शाहले निर्माण कार्य प्राविधिक मापदण्डअनुसार गुणस्तरीय बनाउन निर्देशन दिएका थिए। त्यसपछि स्थानीय कामदारको एक समूहले उहाँमाथि निर्घात कुटपिट गरेको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार शाह नियमित अनुगमनका क्रममा निर्माणाधीन सडकको निरीक्षण गरिरहेका थिए। निरीक्षणका क्रममा सडक निर्माणमा प्रयोग भइरहेको सामग्री तथा कार्यसम्पादन प्राविधिक मापदण्डअनुसार सुधार गर्न निर्देशन दिएपछि विवाद उत्पन्न भएको र त्यसलगत्तै उहाँमाथि सामूहिक रूपमा आक्रमण भएको हो।
कुटपिटबाट शाहको टाउकोमा गम्भीर चोट लागेको छ। उहाँको टाउकोमा पाँच वटा टाँका लगाइएको छ भने शरीरका विभिन्न भागमा चोटपटक र निलडाम देखिएको छ। जिल्ला अस्पताल भोजपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उहाँलाई विराटनगर रेफर गरिएको कार्यालयले जनाएको छ।
घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। भोजपुरका प्रहरी प्रमुख डीएसपी राजु लामाका अनुसार पक्राउ पर्नेमा स्थानीय कामदार सुजन भनिने प्रितम राई, ज्ञानबहादुर राई, इन्द्रबहादुर राई, दुर्गाप्रसाद राई, प्रदीप राई र निरज बोगटी रहेका छन्। उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
डीएसपी लामाले घटनाबारे थप अनुसन्धान भइरहेको र यस घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा समेत अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।
.gif)

.png)

