अदालतको अवहेलनासम्बन्धी मुद्दामा बालेन्द्र शाहलाई वारेस राख्ने अनुमति
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह (बालेन) लाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा वारेस (कानुनी प्रतिनिधि) राख्ने अनुमति सर्वोच्च अदालतले दिएको छ ।
शाहले आफूविरुद्ध दायर मुद्दामा वारेस राख्न अनुमति माग्दै बिहीबार सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाँल र शान्तिसिंह थापाको इजलासले सुनुवाइ गर्दै अनुमति प्रदान गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ ।
यसअघि पनि उनले वारेस राख्ने अनुमति मागेका थिए तर अदालतले अस्वीकार गरेको थियो। त्यसपछि उनी आफैँ अदालतमा उपस्थित हुँदै मुद्दाको तारेख लिँदै आएका थिए।
यो मुद्दा काठमाडौं महानगरपालिकाले चलचित्र ‘आदिपुरुष’सँग सम्बन्धित निर्णय गर्दा सुरु भएको हो। महानगरले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद हटाउन माग गर्दै प्रदर्शन रोक्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध चलचित्र संघले पाटन उच्च अदालतमा रिट दायर गरेको थियो।
उक्त रिटमा बालेन्द्र शाह, सिटी प्रहरी, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको थियो। उच्च अदालतले अन्तरिम आदेश जारी गर्दै काठमाडौं महानगरभित्र हिन्दी फिल्म प्रदर्शन गर्न बाटो खुला गरेको थियो।
त्यसै दिन सामाजिक सञ्जालमा शाहले अदालत र संघीय सरकारप्रति टिप्पणी गरेका थिए, जसलाई आधार बनाएर अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको थियो।
यसपछि अधिवक्ता वर्षा कुमारी झाले सर्वोच्च अदालतमा शाहविरुद्ध अवहेलनाको निवेदन दर्ता गरेकी थिइन्।
.gif)

.png)

