कुवेतको तेल प्रशोधन केन्द्रमा तेस्रो पटक ड्रोन आक्रमण, मध्यपूर्व तनाव झन् चर्कियो
काठमाडौं : मध्यपूर्वमा जारी द्वन्द्वका बीच कुवेतको सरकारी तेल प्रशोधन केन्द्रमा तेस्रो पटक आक्रमण भएको छ । कुवेत पेट्रोलियम कर्पोरेशनका अनुसार मिना अल–अहमदी तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरिएको हो।
आक्रमणपछि केन्द्रमा आगलागी भएको थियो भने आपत्कालीन टोलीले स्थिति नियन्त्रणमा लिएको जनाइएको छ। कम्पनीले घटनालाई दुर्भावनापूर्ण आक्रमणको रूपमा व्याख्या गरेको छ।
मिना अल–अहमदी प्रशोधन केन्द्र मध्यपूर्वकै ठूलोमध्ये एक मानिन्छ, जसले दैनिक करिब ३ लाख ४६ हजार ब्यारेल तेल प्रशोधन गर्ने क्षमता राख्दछ।
यसैबीच क्षेत्रीय तनाव थप बढ्दै जाँदा इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेको खबर आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा सैन्य कारबाहीको चेतावनी दिएको केही घण्टामै उक्त आक्रमण भएको जनाइएको छ।
करिब एक महिनाअघि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि द्वन्द्व तीव्र बन्दै गएको छ। अहिले दुवै पक्षबीच प्रतिशोधको श्रृंखला बढ्दै जाँदा यसको प्रभाव मध्यपूर्वभर फैलिएको छ।
विशेषगरी ‘हर्मुज जलडमरूमध्य’ अवरुद्ध भएपछि विश्व ऊर्जा बजारमा दबाब बढेको छ। ऊर्जा आपूर्ति र आपूर्ति शृङ्खलामा अवरोध आउने चिन्तासमेत बढेको छ।
विश्व बैंकले यस अवस्थाले मुद्रास्फीति, रोजगारी र खाद्य सुरक्षामा गम्भीर असर पार्न सक्ने चेतावनी दिएको छ।
कूटनीतिक तहमा पनि तनाव जारी छ। हर्मुज जलमार्ग खुलाउने विषयमा बेलायतले करिब ४० देशलाई एकजुट गराउने प्रयास गरिरहेको छ। संयुक्त राष्ट्र सुरक्षा परिषदमा जलमार्ग सुरक्षासम्बन्धी प्रस्तावमा मतदान गर्ने तयारी भए पनि सार्वजनिक बिदाका कारण मतदान स्थगित गरिएको छ। नयाँ मिति भने सार्वजनिक गरिएको छैन ।
.gif)

.png)

