कुवेतको ठूलो तेल ट्याङ्करमाथि आक्रमण,अमेरिकी कच्चा तेलको मूल्य बढ्यो
काठमाडौँ : संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई बन्दरगाहमा कुवेतको ठूलो तेल ट्याङ्कर ‘अल–सल्मी’मा आक्रमण भएको छ। यस घटनापछि अमेरिकी कच्चा तेलको सूचक वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यू.टी.आई.) को मूल्य ३.४ प्रतिशतले वृद्धि भएको छ।
कुवेतको सरकारी समाचार एजेन्सी ‘कुना’का अनुसार ट्याङ्कर अंकरेज क्षेत्रमा सिधै लक्षित गरिएको थियो। कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी)ले यसलाई ‘आपराधिक’ आक्रमण भनेको छ र समुद्रमा तेल चुहावटको जोखिम रहेको जनाएको छ। ट्याङ्कर घटना हुँदा पूर्णरूपमा कच्चा तेलले भरिएको थियो। प्रारम्भिक रिपोर्ट अनुसार ट्याङ्कर क्षतिग्रस्त भए पनि मानवीय क्षति भएको छैन। भिडियोमा जहाजमा आगो लागेको दृश्य देखिन्छ।
दुबई मिडिया अफिसले समुद्री अग्निनियन्त्रक टोलीहरू आगो नियन्त्रणमा लागिपरेको जानकारी दिएको छ। विज्ञप्तिमा उल्लेख छ कि आगो नियन्त्रण र अवस्थाको व्यवस्थापन स्थापित प्रक्रियाअनुसार भइरहेको छ।
बेलायती सेनाद्वारा सञ्चालित युनाइटेड किंगडम म्यारिटाइम ट्रेड अपरेशन्सले जहाज दुबईबाट करिब ३१ नटिकल माइल उत्तर–पश्चिममा आक्रमणमा परेको पुष्टि गरेको छ। प्रारम्भिक विवरणमा वातावरणीय असरबारे कुनै पुष्टि गरिएको छैन।
यो घटनालाई खाडी क्षेत्र र स्ट्रेट अफ होर्मुजमा गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि व्यापारी जहाजमाथि भइरहेको श्रृंखलाबद्ध आक्रमणको नयाँ कडी मानिएको छ।
यस आक्रमणपछि अन्तर्राष्ट्रिय तेल बजारमा प्रभाव परेको छ। ब्लूमबर्गका अनुसार अमेरिकी कच्चा तेलको मूल्य ३.४ प्रतिशतले बढेर प्रति ब्यारेल १०६ डलर नाघेको छ। सोमबार मात्र यो मूल्य १०० डलरभन्दा माथि पुगेको थियो।
.gif)

.png)

