फ्लाई दुबईले पोखराबाट सिधा उडान गर्ने
पर्यटन र आर्थिक क्षेत्रमा नयाँ उत्साह
पोखरा : लामो समयदेखि आन्तरिक उडान र केही चार्टर उडानमा मात्र सीमित रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आगामी सेप्टेम्बर २३ देखि नियमित अन्तरराष्ट्रिय उडान सुरु हुने भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को बहुप्रतिष्ठित वायुसेवा कम्पनी फ्लाई दुबईले दुबई–पोखरा–दुबई रुटमा दैनिक सिधा उडान गर्ने निर्णय गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले यसको उडान तालिका स्वीकृत गरिसकेको छ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको टोलीले केही समयअघि मात्रै विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालन स्थितिको स्थलगत निरीक्षण गरी सन्तोषजनक पाएपछि यो ऐतिहासिक अनुमति दिइएको हो। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत यस विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवाहरूलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको केही समयमै यो महत्वपूर्ण सफलता हात लागेको हो।
यो नियमित उडानको सुरुवात केवल एउटा हवाई सेवा थपिने विषय मात्र नभएर समग्र नेपालको हवाई इतिहास र अर्थतन्त्रका लागि एउटा नयाँ प्रस्थानविन्दु बन्ने देखिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यसलाई नेपालको तेस्रो अन्तरराष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा स्थापित गर्ने दिशामा ठूलो प्रगतिको रूपमा अर्थ्याउनुभएको छ। उहाँका अनुसार दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि पोखरा मध्यपूर्व, युरोप र अफ्रिकालगायत विश्वका ३०० भन्दा बढी सहरहरूसँग सिधा सञ्जालमा जोडिनेछ।
यसले पोखराको अन्तरराष्ट्रिय पहिचान बढाउने, पर्यटन प्रवद्र्धन गर्ने र आर्थिक गतिविधिको विस्तार गर्ने मात्र नभई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, काठमाडौँमा रहेको अत्यधिक हवाई चापलाई विकेन्द्रीकरण गर्न समेत ठूलो मद्दत पुर्याउने विश्वास गरिएको छ।
विगत ५० वर्ष अघिको दीर्घकालीन योजना र झण्डै २२ अर्ब रुपैयाँको विशाल ऋण लगानीमा निर्माण भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटन सन् २०२३ जनवरी १ मा तामझामका साथ गरिएको थियो। तर, उद्घाटनको लामो समय बितिसक्दा पनि यहाँबाट नियमित अन्तरराष्ट्रिय उडान हुन नसक्दा यसको व्यावसायिक दिगोपनमाथि प्रश्न उठ्दै आएको थियो।
यसअघि सन् २०२५ को मार्च महिनामा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पोखरा–ल्हासा रुटमा पहिलोपटक नियमित व्यावसायिक उडानको प्रयास गरे तापनि विभिन्न प्राविधिक तथा व्यावसायिक कारणले गर्दा गत मार्च २३ देखि उक्त उडान पूर्ण रूपमा बन्द भएको थियो। त्यसयता यो विमानस्थल छिमेकी देशका केही चार्टर उडानबाहेक केवल काठमाडौँ, भरतपुर र भैरहवाजस्ता गन्तव्यका आन्तरिक उडानमा मात्र खुम्चिएको थियो।
विमानस्थल बनेपछि पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्ने उद्देश्यका साथ स्थानीय पर्यटन व्यवसायीहरूले होटल तथा अन्य पूर्वाधारहरूमा झण्डै एक खर्ब रुपैयाँ बराबरको थप लगानी गरिसकेका छन्। लामो समयदेखि विमानस्थल पूर्ण रूपमा सञ्चालनमा नआउँदा चिन्तित बनेका व्यवसायीहरू फ्लाई दुबईको आगमनसँगै निकै उत्साहित भएका छन्।
यद्यपि, विमानस्थललाई दीर्घकालीन रूपमा सफल बनाउन व्यवसायीहरूले सरकारसँग अन्तरराष्ट्रिय उडानका लागि आवश्यक नीतिनियमहरूमा सहजीकरण गरिदिन, विशेष सहुलियतहरू प्रदान गर्न तथा छिमेकी मुलुकहरू भारत र चीनका मुख्य सहरहरूमा उडान भर्नका लागि राष्ट्रियस्तरका अन्य हवाई कम्पनीहरूलाई पनि तत्काल अनुमति दिन माग गरिरहेका छन्।
.gif)

.png)

