पोखरा-दुबई सिधा उडानको लागि फ्लाइ दुबई इच्छुक
कास्की, २० जेठ : विश्वकै प्रमुख हवाई सेवा प्रदायक कम्पनी 'फ्लाइ दुबई'ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्न इच्छा देखाएको छ। कम्पनीका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले मङ्गलबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गर्दै यस्तो चासो व्यक्त गरेका हुन्।
भेटमा पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने, दुबई र पोखराबीच पर्यटन प्रवर्द्धनका सम्भावनाहरू पहिल्याउने तथा हवाई उडानका क्रममा पालना गर्नुपर्ने सुरक्षा मापदण्ड र दुई पक्षीय हितका विषयमा छलफल भएको थियो।
उड्डयन सुरक्षा, जोखिम व्यवस्थापन र ‘एयरलाइन अपरेसन’को क्षेत्रमा २० वर्षभन्दा बढी लामो अनुभव भएका उपाध्यक्ष लुकाजले पोखराको सुन्दरताबाट आफू निकै प्रभावित भएको बताए। फ्लाइ दुबईले उडानमार्फत पोखरासँग जोडिन पाए यहाँको समग्र पर्यटन क्षेत्रका लागि सुखद हुने उनको भनाइ थियो। विमानस्थलहरूको अन्तर्राष्ट्रिय र स्थानीय सुरक्षा रणनीतिहरूको निरीक्षणमा उनी विशेष दखल राख्छन्।
'पोखरा अन्तर्राष्ट्रिय उडानका लागि सक्षम छ'
सो क्रममा नगर प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सञ्चालनका लागि निरन्तर पहल भइरहेको जानकारी दिए। दुई देशबीचको पर्यटन आदानप्रदानमा सिधा उडानको भूमिका महत्त्वपूर्ण रहने भन्दै उनले फ्लाइ दुबईका तर्फबाट विशेष पहल गरिदिन अनुरोधसमेत गरे।
नेपाल सरकारसँग आफूले पटक-पटक संवाद गरेको र विशेष समयमा भइरहेका चार्टर उडानहरूले विमानस्थलको प्राविधिक सक्षमता प्रमाणित गरिसकेको प्रमुख आचार्यले उल्लेख गरे । 'पोखराबाट अन्तर्राष्ट्रिय उडान सम्भव छ भन्ने कुरा चार्टर उडानहरूले देखाइसकेका छन्,' प्रमुख आचार्यले भने, 'पोखरा पर्यटनको राजधानी सहर भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको प्रवर्द्धन गर्न सिधा उडान आवश्यक छ। आजको भेटले विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास बढाएको छ।'
भेटवार्तामा नगर प्रमुख आचार्यसहित महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराई लगायतको उपस्थिति थियो।
अझै पर्खाइमा अन्तर्राष्ट्रिय उडान
मित्रराष्ट्र चीनको सहयोगमा रु २२ अर्बभन्दा बढीको लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन वि.सं. २०७९ पुस १७ गते भव्य रूपमा गरिएको थियो। तर, उद्घाटनको लामो समय बितिसक्दा पनि यहाँबाट हालसम्म कुनै पनि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन। यो विमानस्थल हाल आन्तरिक उडानमा मात्र सीमित हुँदै आएको पृष्ठभूमिमा फ्लाइ दुबईको यो चासोलाई महत्त्वका साथ हेरिएको छ।
.gif)

.png)

