मोतिबिन्दुको उपचारमा ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबीच सहकार्य


२०८२ चैत १० मंगलबार १८:०२ बजे

काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबीच आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकमा मोतिबिन्दुको पहिचान र निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

बैंकको कर्पोरेट कार्यालय, कमलादीमा मंगलबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइटको उपस्थितिमा समझदारीपत्र आदानप्रदान गरिएको हो।

समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार तिलगंगा आँखा प्रतिष्ठानले ग्लोबल आइएमई बैंकको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा मोतिबिन्दुको पहिचान गरी आवश्यक शल्यक्रिया निःशुल्क रूपमा गर्नेछ। साथै, विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तथा विपन्न विद्यार्थीहरूको आँखा परीक्षण गरी आवश्यकताअनुसार निःशुल्क चस्मा वितरण गर्ने कार्यक्रम पनि सञ्चालन गरिनेछ।

कार्यक्रममा अध्यक्ष ढकालले बैंकले स्थापनाकालदेखि नै नाफाको निश्चित हिस्सा सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको उल्लेख गरे। उनले बैंकले सीएसआर कार्यक्रमलाई सातै प्रदेशमा समान रूपमा विस्तार गर्ने लक्ष्य राखिएको बताए।

तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. रुइटले बैंकसँगको सहकार्यलाई अवसर र चुनौती दुवै रूपमा लिइएको उल्लेख गर्दै पारदर्शिता र प्रभावकारी व्यवस्थापनमा जोड दिइने बताए।

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले देशकै ठूलो बैंक र प्रतिष्ठित स्वास्थ्य संस्थाबीचको सहकार्यले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललगायत उच्च पदस्थ कर्मचारी तथा प्रतिष्ठानका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

ग्लोबल आइएमई बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, मानवीय सहायता तथा विपद् व्यवस्थापनलगायत क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्दै आएको छ। बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार भएको निजी क्षेत्रको वाणिज्य बैंक हो।

नेपाल आँखा कार्यक्रम अन्तर्गत सञ्चालनमा रहेको तिलगंगा आँखा प्रतिष्ठान सन् १९९२ मा स्थापना भएको गैरनाफामूलक संस्था हो, जसले आँखा उपचार, अनुसन्धान, शिक्षा तथा समुदायस्तरीय सेवा प्रदान गर्दै आएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७