ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा

लगइन नगरि सेकेन्डभरमै खाता रोक्का गर्न सकिने


२०८३ असार १७ बुधबार २०:०५ बजे

काठमाडौं । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम)बाट ग्राहकको निक्षेप सुरक्षित राख्न ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल एपमार्फत लगइन नगरी नै सेकेन्डभरमै बैंक खाता ब्लक गर्न सकिने नयाँ सुरक्षा सुविधा सञ्चालनमा ल्याएको छ।

बैंकका अनुसार ग्राहकलाई कुनै पनि प्रकारको अनधिकृत पहुँच, वित्तीय ठगी वा खाता ह्याक भएको आशंका लागेमा मोबाइल एपमै रहेको सुविधाबाट तत्काल खाता रोक्का गर्न सकिनेछ। एप खोल्नासाथ माथिल्लो दायाँ कुनामा रहेको ‘Call Sign’ मा क्लिक गरी ‘Missed Call Banking’ अन्तर्गत ‘Account Block by Missed Call’ विकल्प छनोट गरेपछि खाता तुरुन्तै ब्लक हुनेछ। यसका लागि एपमा लगइन गर्नुपर्ने आवश्यकता नपर्ने बैंकले जनाएको छ।

मोबाइल एप प्रयोग गर्न नसक्ने ग्राहकले भने ‘ग्लोबल कनेक्ट’ को आधिकारिक नम्बर ०१–५९७०६०० (विदेशबाट +९७७–१–५९७०६००) मा फोन गरेर मौखिक अनुरोधमार्फत पनि आफ्नो खाता तत्काल ब्लक गराउन सक्ने व्यवस्था गरिएको छ।

पछिल्लो समय वित्तीय तथा डिजिटल साक्षरताको कमीका कारण फिसिङ, स्क्याम र अनलाइन बैंकिङ ठगीका घटना बढ्दै गएकाले ग्राहकको रकम सुरक्षित राख्न यस्तो अत्याधुनिक सुरक्षा प्रणाली लागू गरिएको बैंकले जनाएको छ।

बैंकिङ क्षेत्रका विज्ञहरूले यस्तो सुविधाले शंकास्पद कारोबार वा साइबर आक्रमणको अवस्थामा तत्काल खाता रोक्का गर्न सकिने भएकाले ग्राहकको निक्षेप सुरक्षित राख्न प्रभावकारी भूमिका खेल्ने बताएका छन्।

यसैबीच, नेपाल राष्ट्र बैंकले पनि हालै सबै वाणिज्य बैंकलाई ग्राहकको मौखिक वा अनलाइन अनुरोधका आधारमा तत्काल खाता रोक्का गर्ने व्यवस्था लागू गर्न निर्देशन दिएको छ। ग्लोबल आइएमई बैंकले सो व्यवस्थालाई कार्यान्वयन गर्दै ग्राहक सुरक्षालाई थप सुदृढ बनाएको जनाएको छ।

ग्लोबल आइएमई बैंक हाल देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३४४ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरिसकेको छ। साथै, अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, मलेसिया, साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन, भारत, जोर्डनलगायत विभिन्न देशबाट सुरक्षित रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७