१४ बुँदे सहमतिपछि लघुवित्त ऋणीहरू फर्किए, ३२३ जनालाई ८ बसमा घर पठाइयो
सरकारसँग सहमति भएपछि लघुवित्त ऋणीको धर्ना स्थगित
काठमाडौं : सरकारसँग १४ बुँदे सहमति भएपछि ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू आइतबार घर फर्किएका छन् । लघुवित्त संस्थाबाट लिएको ऋणलगायतका विषयमा लामो समयदेखि आन्दोलनरत ऋणी र नेपाल सरकारका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १४ बुँदे सहमति भएपछि उनीहरूले धर्ना स्थगित गरेका हुन् ।
सहमति कार्यान्वयनको प्रारम्भिक प्रक्रियाअन्तर्गत सरकारले आइतबार बिहान उनीहरूलाई सम्बन्धित जिल्लातर्फ फर्काउन साझा यातायातका बसको व्यवस्था गरेको थियो । सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई ८ वटा बसमार्फत गन्तव्यतर्फ पठाइएको हो । उनीहरूलाई झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा, नवलपरासीलगायत जिल्लातर्फ पठाइएको जनाइएको छ ।
सरकार र ऋणीका प्रतिनिधिबीच भएको सहमतिले लघुवित्त ऋणीहरूको आन्दोलन तत्कालका लागि टुंगिएको छ । सहमतिमा उल्लेखित विषय कार्यान्वयनमा आएमा लघुवित्त क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि थप प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।
.gif)

.png)

