ग्लोबल आइएमई बैंक र डिएआई–उदय परियोजनाको साझेदारी, साना व्यवसायीलाई लाभ
काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेड र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका साना तथा लघु उद्यमलाई वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी र परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि कोशी प्रदेशमा सञ्चालित साना तथा लघु व्यवसायले सहज रूपमा कर्जा पाउने बैंकले जनाएको छ । लगानी अभावका कारण विस्तार गर्न नसकेका उद्यम तथा उद्यमीको व्यवसाय विस्तार र रोजगारी वृद्धि हुने अपेक्षा गरिएको छ ।
सम्झौताअनुसार डिएआई–उदय परियोजनाले छनोट गरेका उद्यम तथा व्यवसायले ग्लोबल आइएमई बैंकका कोशी प्रदेशका सबै शाखाबाट कर्जा सुविधा पाउनेछन् ।
डिएआई–उदय परियोजना नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलमा कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगसहित सञ्चालन हुँदै आएको छ। परियोजनाले कोशी प्रदेशका सबै जिल्लामा काम गरिरहेको छ।
परियोजनाले नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, आइटी, पर्यटन र उत्पादनमूलक उद्योगमा कर्जाको पहुँच बढाउँदै वित्तीय स्रोतमा सहज वातावरण बनाउँदै आएको छ ।
ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित हुँदै आएको छ । बैंक अफ द इयर २०१४, वेस्ट इन्टरनेट बैंक २०१६, वेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, वेस्ट बैंक ईएसजी नेपाल २०२४ र वेस्ट इम्प्लोयर जस्ता अवार्ड बैंकले प्राप्त गरिसकेको छ ।
ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालय छन्।
बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत देशबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै आएको छ।
.gif)

.png)

