ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा १७५ कर्मचारी सम्मानित
काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा १५ वर्ष सेवा पूरा गरेका १७५ कर्मचारीलाई सम्मान गरेको छ।
बैङ्कद्वारा आयोजित विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीलाई सम्मान गरिएको हो।
काठमाडौँमा भएको समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष ढकालसहित सदस्यहरू राधेश पन्त, रामबहादुर भण्डारी, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल सहभागी थिए । प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्त रूपमा खादा र सम्मान पत्र प्रदान गरे ।
सम्मान समारोहमा अध्यक्ष ढकालले बैंकले मर्जर र व्यवसाय विस्तारसँगै सेवाको गुणस्तर वृद्धिमा ध्यान दिएको बताए । उनले बैंकको सेवालाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाइने उल्लेख गरे ।
उनले भने, '१९ वर्षअघि १९औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको ग्लोबल आइएमई बैंकले स्थापनाको १९ वर्षमै अधिकांश वित्तीय सूचकमा आफूलाई अब्बल बनाउन सफल भएको छ।'
अध्यक्ष ढकालले बैंकको सफलतामा नेतृत्वसँगै सम्पूर्ण टिमको सहकार्य, मिहिनेत र लगनशीलताको ठूलो भूमिका रहने बताए । उनले कर्मचारीलाई अझ लगनशील भएर कर्तव्य निर्वाह गर्न आग्रह गरे ।
उनले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंक बनाउन कर्मचारीले पुर्याएको योगदानप्रति धन्यवाद पनि व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले सेवालाई नवीनतम र ग्राहकमैत्री बनाउँदै डिजिटल युगअनुसार अघि बढेको बताए । उनले समयसापेक्ष सेवा प्रदान गर्ने लक्ष्यका साथ बैंक अघि बढिरहेको उल्लेख गरे ।
नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आगामी वर्षहरूमा ग्राहक सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै अझ गुणस्तरीय बैंकिङ सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।
ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित हुँदै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘बेस्ट बैंक नेपाल २०२४ र २०२५’ प्राप्त गरिसकेको छ।
यसै गरी ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेस्ट इम्प्लोयर’ जस्ता अवार्ड पनि बैंकले पाएको छ। ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।
बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर छन् । साथै, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत बैंकले सेवा दिँदै आएको छ।
बैंकले रेमिटेन्स सेवामार्फत विश्वभर रहेका नेपालीलाई आर्थिक सेवा प्रदान गर्दै आएको छ। अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनबाट रेमिटेन्स सेवा सञ्चालन हुँदै आएको छ।
.gif)

.png)

