हामी ढलेका मात्र हौं, मरेका होइनौं : योगेश भट्टराई


२०८२ फाल्गुण २५ सोमबार १३:३९ बजे

काठमाडौँ : फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले भोगेको पराजयपछि नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीभित्र गम्भीर आत्मसमीक्षा र खुला बहसको आवश्यकता औँल्याएका छन्। 

पछिल्ला तीन दिनमा करिब हजार जनासँग फोनमा कुराकानी गरेको र त्यत्तिकै सन्देश प्राप्त भएको बताउँदै उनले कार्यकर्ता, नेता र शुभेच्छुकबाट मिश्रित प्रतिक्रिया आएको बताएका हुन् । 

उनका अनुसार संवादका क्रममा सुझाव, आलोचना, आक्रोश, निराशा, हतासा, सम्भावना र उपायका कुरा आएका छन्। कतिपयले बोल्न र पहल लिन दबाबसमेत दिएको उनले उल्लेख गरेका छन्।

भट्टराईले निर्वाचन परिणामलाई जनताले मतमार्फत दिएको सन्देशका रूपमा लिनुपर्ने बताएका छन्। उनले अब पार्टीले सर्वाङ्गीण रूपान्तरणमार्फत जनसमर्थन पुनः आर्जन गर्नुपर्ने धारणा राखेका छन्।

उनले भदौ २३ र २४ पछि पार्टीले लिएको नीतिप्रति आफूहरूले बैठक, भेटघाट र महाधिवेशनमार्फत बारम्बार सचेत गराए पनि त्यसलाई सुनुवाइ नभएको दाबी गरेका छन्। अब भने ती विषयमा खुला छलफल र बहस आवश्यक रहेको उनको भनाइ छ।

पार्टीको वर्तमान अवस्थालाई उनले समग्र संगठनको असफलताका रूपमा व्याख्या गरेका छन्। नीति मात्र होइन, जिम्मेवारीमा रहेका कमिटी र नेताहरूले पनि त्यसको हिस्सेदारी लिनुपर्ने उनले बताएका छन्। विशेष गरी केन्द्रीय कमिटी र केन्द्रीय सचिवालयले सफलता–असफलताको जिम्मेवारी बोक्नुपर्ने उनको धारणा छ।

भट्टराईले विगतका गुट–समूहको घेराबाट बाहिर निस्केर खुला र स्पष्ट बहसमा सहभागी हुन नेता–कार्यकर्तालाई आह्वान गरेका छन् । पार्टी, जनसंगठन तथा प्रवासका कमिटी र सदस्यहरूलाई पनि आफ्ना सुझाव र राय नेतृत्वसमक्ष पठाउन उनले आग्रह गरेका छन्।

'हामी ढलेका मात्र हौँ, मरेका होइनौँ,' भन्दै उनले सही नीति, संगठन, नेतृत्व र कार्यशैलीका आधारमा पार्टी फेरि उठ्ने विश्वास व्यक्त गरेका छन्। संयम र धैर्यका साथ पार्टी एकता जोगाउँदै आत्मभर्त्सना होइन, आत्मसमीक्षाको बाटो रोज्न उनले कार्यकर्तालाई अपिल गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७