सुनसरी घटनाको नैतिक जिम्मेवारी लिन प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ : एमाले

‘काठमाडौंमा गोली चल्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनु परेको थियो, सुनसरीमा चल्दा दिनुपर्छ कि पर्दैन ?’


२०८३ श्रावण १४ बिहीबार ११:३५ बजे

काठमाडौं :  नेकपा (एमाले)की सांसद पद्मा अर्यालले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाका विषयमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङले नैतिक तथा राजनीतिक जिम्मेवारी लिनुपर्ने बताएकी छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विगतमा यस्तै घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको जवाफदेहिता माग गर्नेहरू अहिले सरकारमा रहे पनि सुनसरी घटनाप्रति मौन बसेको आरोप लगाइन्। उनले भनिन्, ‘काठमाडौंमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री थुनामा बस्नुपर्छ भन्ने अवस्था सिर्जना गरियो भने सुनसरीमा मानिस मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन ? यो घटनाको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’

अर्यालले सुनसरीमा गोली चल्दा र मानिसको ज्यान जाँदा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले पनि राजीनामा दिनुपर्ने कि नपर्ने भन्दै प्रश्न उठाइन्। विगतमा सरकार प्रमुखमाथि फौजदारी अभियोगको कुरा उठाउनेहरूले अहिले पनि त्यही मापदण्ड लागू गर्न तयार हुनुपर्ने उनको भनाइ थियो।

उनले सुनसरीसहित पूर्वी जिल्लाहरूमा बढ्दो तनाव अन्त्य गरी शान्ति–सुरक्षा कायम गर्न सरकारले प्रभावकारी कदम चाल्न नसकेको आरोप पनि लगाइन्।

देशमा यति ठूलो हिंसात्मक अवस्था सिर्जना हुँदा पनि प्रधानमन्त्री जनतामाझ नदेखिएको भन्दै उनले प्रश्न गरिन्, 'प्रधानमन्त्री पद सिंहदरबार सजाउनका लागि होइन, संकटका बेला जनताको बीचमा पुगेर संवाद गर्नका लागि हो।' 

अर्यालले विगतमा यस्ता घटनाका बेला सरकार र राजनीतिक दलहरूले एकताबद्ध भएर शान्ति र सद्भाव कायम गरेको स्मरण गर्दै अहिले पनि सरकारले संवाद, विश्वास र सहकार्यका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताइन्।

सरकारले शान्ति–सुरक्षा, अमनचयन र सामाजिक सद्भाव कायम गर्ने ठोस योजना ल्याए एमाले त्यसमा पूर्ण सहयोग गर्न तयार रहेको उनले स्पष्ट पारिन्।

उनले दंगा नियन्त्रणका लागि संवाद, योजना र विश्वासको वातावरण सिर्जना गर्नुको सट्टा राज्यकै गतिविधिले त्रास बढाएको आरोप लगाउँदै उत्तेजना, आवेग र प्रतिशोधले समस्या समाधान नभई झन् जटिल बन्ने चेतावनी दिइन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७