चुनावमा कडाइ : चारवटा मदिरा पसल सिल


२०८२ फाल्गुण २० बुधबार १४:०९ बजे

काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिरा बिक्रीवितरणमा लगाइएको निषेध आदेश उल्लङ्घन गरेको आरोपमा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार अनुगमनका क्रममा मंगलबार रातिसम्म जिल्लाका विभिन्न स्थानबाट चारवटा मदिरा पसल सिल गरिएको छ । मदिरा बिक्रीवितरण तथा ओसारपसारमा संलग्न ११ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए । 

सिद्धार्थनगर नगरपालिका–६ बुद्धचोकस्थित एक रेष्टुरेन्टबाट सञ्चालकसहित नौ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यस्तै, मायादेवी गाउँपालिका–५ गोनाहा चोकस्थित मदिरा पसलबाट ‘दामी’ र ‘इश्क’ नाम लेखिएका ११० बोतल मदिरा बरामद गरिएको छ । 

यसैगरी, शुद्धोधन गाउँपालिका–७ भगलापुर र वडा नं ३ सियाभारस्थित रेष्टुरेन्टबाट दुई जना सञ्चालकलाई नियन्त्रणमा लिइएको छ । निषेधित अवधिमा मदिरा कारोबार गरेको पाइएपछि सम्बन्धित पसल सिल गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाभर मदिरा नियन्त्रणका लागि विशेष टोली परिचालन गरी अनुगमन कडा पारिएको सूचना अधिकारी चन्दले बताए । स्थानीय प्रशासनले निर्वाचन अवधिभर सबै प्रकारका मदिराजन्य पदार्थको बिक्रीवितरण तथा सार्वजनिक स्थानमा सेवन पूर्ण रूपमा निषेध गरेको छ ।

निषेध आदेश उल्लङ्घन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ । निर्वाचन आचारसंहिताविपरीत गतिविधिमा संलग्नमाथि निरन्तर निगरानी राखिएको र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक कदम सशक्त रूपमा अघि बढाइने प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७