बाढीपीडितका लागि अमेरिकाबाट पासाङ लामाको १ करोड ७ हजार सहयोग घोषणा
काठमाडौं : अमेरिकामा रहेका व्यवसायी पासाङ लामाले बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ७ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
लामाले सामाजिक सञ्जालमार्फत आफू आबद्ध लामा फाउन्डेसनका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ७ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
‘नेपाललाई अहिले हाम्रो साथ चाहिन्छ,’ लामाले सामाजिक सञ्जालमा लेखेका छन् । उनले उक्त रकम नेपाल सरकारको आधिकारिक राहत कोषमा जाने र प्रत्येक रुपैयाँ त्यहीँ प्रयोग हुने उल्लेख गरेका छन् ।
लामाले विदेशमा रहेका नेपाली तथा सहयोग गर्न चाहने अन्य व्यक्तिलाई पनि विपद्का बेला नेपाललाई साथ दिन आग्रह गरेका छन् । सहयोग गर्न नसक्नेहरूले सहयोगसम्बन्धी सूचना साझा गरेर पनि योगदान गर्न सक्ने उनले बताएका छन् ।
त्यस्तै, बाढी तथा विपद्का कारण परिवारका सदस्यसँग सम्पर्कविहीन भएकाहरूलाई आवश्यक विवरण पठाउन आग्रह गर्दै त्यस्ता सूचना साझा गर्न आफूहरूले सहयोग गर्ने पनि लामाले बताएका छन् ।
.gif)

.png)

