निर्वाचनबारे दलहरूसँग छलफल गर्ने आयोगको तयारी

काठमाडौँ : आगामी फागुन २१ गतेका लागि प्रस्तावित प्रतिनिधिसभा निर्वाचनको तयारी स्वरूप निर्वाचन आयोगले असोज ३० गते राजनीतिक दलहरूसँग परामर्श बैठक बोलाउने तयारी गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार बैठकका लागि आवश्यक पत्राचार प्रक्रिया अगाडि बढाइएको छ। असोज ३० गते दलहरूसँग परामर्शका लागि पत्र काट्ने तयारी भइरहेको आयोगले जनाएको हो ।
भेटवार्ताका क्रममा निर्वाचनको कार्यतालिका, प्रविधि, व्यवस्थापनलगायत समग्र विषयमा छलफल हुने आयोगले जनाएको छ। दलहरूसँग सम्पर्क कायम गर्न नियुक्त प्रतिनिधिसँगको समन्वयमा बैठक तय गरिएको भण्डारीले स्पष्ट पारे।
निर्वाचन आयोगले सोमबार निर्वाचनको प्रारम्भिक कार्यतालिका सार्वजनिक गरिसकेको छ । यद्यपि तालिका सार्वजनिक भएपछि समेत राजनीतिक दलसँग औपचारिक छलफल नगरिएको भन्दै केही दलका नेताहरूले असन्तुष्टि जनाइरहेका छन् ।