‘पुरानो संरचना र शैलीलाई परिवर्तन नगरी राजनीतिक सुधार असम्भव’


२०८२ असोज २१ मंगलबार १५:२३ बजे

काठमाडौँ : विभिन्न राजनीतिक दलहरूमा आबद्ध २८ जना युवा नेताहरूले राजनीतिक दलहरूभित्र नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको माग गर्दै सामूहिक आह्वान गरेका छन्। 

नेकपा एमाले, नेकपा माओवादी र एकीकृत समाजवादीमा आवद्ध २८ जना युवाले जेनजी आन्दोलनको मर्म र भावनालाई आत्मसात् गर्दै दोस्रो र तेस्रो तहका नेताहरूले अब अग्रसरता लिएर दलभित्र सुधारको नेतृत्व गर्नुपर्ने उनीहरूको भनाइ छ । 

नेता उषा किरण तिम्सेना, अरविन्द सिंह, अशेष घिमिरे, करुणा पराजुली, अभिजित अधिकारी, नवीन तिवारी, जटिल कार्की, जेबी विश्वकर्मालगायत विभिन्न पार्टीका २८ नेताले मंगलबार विज्ञप्ति जारी गर्दै नेतृत्वमा रहेको पुरानो संरचना र शैलीलाई परिवर्तन नगरी राजनीतिक सुधार असम्भव रहेको चेतावनी दिएका हुन् । 

विज्ञप्तिमा भनिएको छ, 'राजनीतिमा संस्थागत रूपमा फैलिएको भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै आएको जनआन्दोलनमाथि गरिएको दमन अमानवीय र अलोकतान्त्रिक हो। यसले राजनीति र राज्यको चरित्रप्रति आम नागरिकको अविश्वास झनै बढाएको छ।'

आन्दोलनमा भएको आगजनी, तोडफोड र लुटपाटप्रति जेनजी आन्दोलनका नेतृत्वकर्ताहरूले समेत आलोचना गरिसकेको स्मरण गराउँदै उनीहरूले यस्तो गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । साथै, आन्दोलन बदनाम बनाउन खोज्ने र राजनीतिक अस्थिरता चर्काउन खोज्ने तत्त्वहरूप्रति सचेत रहन अपिल गरेका छन्।

साथै, विज्ञप्तिमार्फत उनीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा आफूहरू स्पष्ट रूपमा उभिएको बताउँदै वर्तमान सरकारले नयाँ निर्वाचनतर्फ अग्रसर हुने कार्यलाई समर्थन जनाउँदै, दलहरूको पुनर्गठन र स्वच्छ प्रतिस्पर्धाबाट मात्र जनविश्वास पुनः प्राप्त गर्न सकिने जनाएका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७