काठमाडौँमा निजी कम्पनीको निःशुल्क हेलिकोप्टर उद्धार सेवा

काठमाडौँ : वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकामा आपत्कालीन उद्धारका लागि निःशुल्क हेलिकोप्टर उपलब्ध गराउने भएको छ ।
शनिबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएर संघले काठमाडौं उपत्यकाभित्र हुने विपद्जन्य घटनामा संघका सदस्य हेलिकोप्टर कम्पनीले निःशुल्क उद्धार गर्ने जनाएको हो ।
संघले उद्धार कार्यमा समन्वय गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समन्वय अधिकारी तोक्न पनि आग्रह गरेको छ । 'समन्वय अधिकारीको निर्देशनबमोजिम उद्धार कार्य गर्ने बेहोरासमेत यसै पत्रमार्फत जानकारी गर्दछौँ ।' पत्रमा भनिएको छ ।
पत्रमा देशका विभिन्न भागमा बाढी, पहिरो र विपद् व्यवस्थापनका सम्भावित अवस्थाको सामना गर्न हेलिकोप्टर कम्पनी तयारी अवस्थामा रहेको पनि उल्लेख छ ।