तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

काठमाडौँ : लगातारको वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढ्दै गइरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले एक भिडियो सन्देश जारी गर्दै नागरिकको सुरक्षा सरकारको सर्वोपरि चिन्ता रहेको बताएकी छन् ।
प्रधानमन्त्री कार्कीले नागरिकलाई सम्भावित जोखिमबाट बच्न सतर्क रहन आग्रह गर्दै, 'आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस्' भन्दै थपेकी छन्,'कुनै पनि कार्य गर्दा जोखिमको पूर्वआँकलन गरी सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुहोस् । तपाईंहरूको सुरक्षा नै हाम्रो मुख्य चिन्ता हो ।'
उनले देश अहिले उच्च जोखिमको अवस्थाबाट गुज्रिरहेको जनाउँदै बाढी, पहिरो र डुबानको अवस्था अझै जटिल बन्दै जाने सम्भावना रहेको जानकारी दिइन् । सुरक्षा निकायहरू २४ सैँ घण्टा तयारी अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मी र प्रशासनिक टोलीहरू आपतकालीन सेवामा पूर्ण रूपमा तैनाथ रहेको बताइन् ।
सरकारले महत्त्वपूर्ण राजमार्ग तथा पूर्वाधारमा निरन्तर निगरानी गरिरहेको समेत जानकारी दिँदै, जोखिमको अवस्था थप नबढोस् भन्ने उद्देश्यले सबै तहका निकायलाई सक्रिय गराइएको बताइन्।
प्रधानमन्त्रीले सुरक्षित स्थानमा रहन, अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्न आग्रह गर्दै सन्देशको अन्त्य गरेकी छन्।