जेनजी घटनामा उन्मुक्ति, कांग्रेसको आपत्ति


२०८२ असोज १४ मंगलबार २२:३९ बजे

काठमाडौँ : नेपाली कांग्रेसले भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, लुटपाट, आगजनी तथा सुरक्षाकर्मीका हतियार खोस्ने कार्यमा संलग्न व्यक्तिमाथि सरकारले कारबाही नगर्ने निर्णयलाई विधिको शासन र संविधानको उल्लङ्घन भएको ठहर गरेको छ ।

कांग्रेसले मंगलबार जारी विज्ञप्तिमा सप्रमाण भेटिएका अपराधीलाई उन्मुक्ति दिने निर्णय स्वीकार्य नभएको स्पष्ट पार्दै सरकारको उक्त नीति नेपाली जनताका लागि अस्वीकार्य भएको बताएको हो । 

विज्ञप्तिमा भनिएको छ, ‘राजनैतिक प्रदर्शनको आवरणमा नियोजित र निर्देशित योजनाबद्ध आगजनी, राजनीतिक दल र नेता प्रति प्रतिशोधपूर्ण आक्रमण, कार्यालयमा तोडफोड, लुटपाट तथा सुरक्षाकर्मीको हातहतियार र बर्दी लुट्ने, त्यसै गरी बर्दी लगाएर हातहतियार बोकेर आतङ्क फैलाउने कार्यमा संलग्न व्यक्ति उपर कुनै कानुनी कारबाही नगर्ने आशय प्रकट गर्नु संविधान, कानुनी राज्य र विधिको शासनको धज्जी उडाउनु हो ।’ 

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै प्रतिशोधको राजनीति नगर्न सरकारलाई सचेत गराएका छन् । भदौ २३ र २४ गतेको आन्दोलनको छानबिन नगरी दलमाथि प्रतिशोध भएको भन्दै कांग्रेसले यस्तो बताएको हो । 

साथै, छानबिन आयोगका नाममा राहदानी रोक्का गर्ने र देशभित्र हिँड्न नदिने शैली गलत भएको भन्दै सरकारले प्रतिशोध साधेको जनाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यसरी पीडितलाई आतङ्कित गर्ने र सप्रमाण अपराधीलाई उन्मुक्ति दिँदै जाने नीति नेपाली जनताले कदापि स्वीकार्ने छैनन् ।'

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७