एमालेको चिन्ता अरूले गरिरहन आवश्यक छैन : सूर्य थापा

काठमाडौँ : नेकपा (एमाले)का नेता तथा पूर्वसांसद सूर्य थापाले एमालेको भविष्यबारे अन्य दलले टिप्पणी नगर्न आग्रह गरेका छन् ।
थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै समाजवादी, माओवादी, मसाल, काँग्रेस र रास्वपालाई एमालेप्रति चिन्ता नदेखाउन आग्रह गरेका हुन् ।
'आफ्नो नेतृत्व र भविष्यको चिन्तन र निर्णय गर्न त हामी छदैँछौं,' उनले लेखेका छन्। थापाले एमाले छाडिसकेका केही व्यक्तिहरूले अनावश्यक टिप्पणी गरिरहेको भन्दै आलोचना गर्दै लेखेका बुझिन्छ ।
'पोइल गइसकेकी श्रीमतीले जमानामै छाडेको खसम बिरामी परेको सुनेर गोहीका आँसु झार्दै डाँको छाडेर धरधरी रोएजस्तो नाटक बन्द गरे हुन्छ।'
थापाले पार्टीको आन्तरिक बहसलाई लिएर बाहिरबाट धारणा बनाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै 'कसले के लेखिरहेको छ भनेर प्रोपाइल हेरेर मात्रै धारणा बनाउन' कार्यकर्ताहरूलाई सुझाएका छन् । उनले एमाले नेतृत्वप्रति विश्वास कायम गर्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।