निजी क्षेत्रको सक्रियता र लगानीविना अर्थतन्त्रलाई चलायमान बनाउन सकिँदैन : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त सतुंगलस्थित चौधरी ग्रुपको सीजी डिजिटल पार्क अवलोकन गर्दै सरकार निजी क्षेत्रलाई सहयोग र सहजीकरण गर्न तयार रहेको बताएका छन् ।
आन्दोलनकारीले गरेको आगजनीका कारण खरानीमा परिणत भएको चौधरी ग्रुपको प्रमुख औद्योगिक एकाइको अवलोकनपछि उनले भने ‘हालैको विनाशबाट माथि उठ्दै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता हो । निजी क्षेत्रको सक्रियता र लगानीविना यो सम्भव छैन। सरकार निजी क्षेत्रलाई सहयोग र सहजीकरण गर्न तयार छ।’
जेन-जी आन्दोलनका क्रममा चौधरी ग्रुपका व्यावसायिक प्रतिष्ठान, उद्योग र निजी निवासहरूमा व्यापक तोडफोड तथा आगजनी भएको थियो। सतुंगलस्थित यो पार्कबाट सीजी ब्रान्डका विद्युतीय सामग्री एसेम्बल गरी बजारमा पठाइने गरिएको थियो।
साथै, एलजीसहितका अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय उपकरणहरू पनि यही पार्कमा एसेम्बल हुने गरेका थिए। आगजनीका कारण सम्पूर्ण संरचना ध्वस्त भएता पनि सीजी र एलजीका विद्युतीय सामग्री आपूर्ति शृंखलामा अवरुद्ध हुन नदिने चौधरी ग्रुपले जनाएको छ।