जेनजी आन्दोलनमा लुटपाट गर्नेमाथि अपरेशन

काठमाडौँ : जेनजी आन्दोलनको फाइदा उठाउँदै चोरी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई लक्षित गर्दै काठमाडौँ प्रहरीले विशेष अपरेसन थालेको छ । सोही क्रममा राजधानीको रातोपुल क्षेत्रबाट ३ जना युवालाई पक्राउ गरिएको छ।
चोरी तथा लुटपाटको आरोपमा पक्राउ पर्नेहरूमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ का २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोकका १८ वर्षीय नयुन श्रेष्ठ, र हेटौँडा–५ का १८ वर्षीय अगम प्रजा छन् । उनीहरू हाल काठमाडौँको रातोपुलमा डेरा गरी बस्दै आएका थिए।
प्रहरीका अनुसार, भदौ २४ गते रातोपुलमा भएको लुटपाट घटनासँग उनीहरू संलग्न थिए । शङ्कास्पद गतिविधिको सूचना पाएपछि प्रहरीले उनीहरूको डेरामा खानतलासी गर्दा कपडा, सुनचाँदी, मूर्तिलगायतका दर्जनौँ सामान फेला परेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए अनुसार, काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।
यसैबीच, प्रहरीले जनसमुदायलाई सतर्क रहन र शङ्कास्पद गतिविधि देखिएमा तुरुन्तै नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउन आग्रह गरेको छ।