कसले छाडे राष्ट्रिय सुरक्षालाई चुनौती दिने खतरनाक हतियार ?
काठमाडौँ : जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको नेपाल बार एसोसिएसनको कार्यालयमा तोपका गोलासहितका हतियार भेटिएपछि सुरक्षा खतराबारे नयाँ रहस्य बाहिरिएको छ ।
जेन–जी आन्दोलनको क्रममा ध्वस्त भएको बार परिसर सफा गर्ने क्रममा आइतबार ती वस्तु भेटिएका हुन् । जेनजी आन्दोलनको क्रममा हिंसात्मक र ध्वंशात्मक प्रदर्शनका क्रममा भएको आगजनीपछि भेटिएका त्यस्ता खतरनाक हतियार भेटिएपछि राष्ट्रिय सुरक्षा कमजोरीबारे चर्चा सुरु भएको छ ।
नेपाल बार एसोसिएसनमा भेटिएका हतियारहरु नेपाल प्रहरीसँग उपलब्ध नहुने खालका भएपछि हामीले नेपाली सेनाका सूचना अधिकारीसँग चासो व्यक्त गर्दा नेपाली सेनाले त्यस प्रकारका हतियार कतै नछोडेको स्पष्ट पारे ।
यसअघि बार एशोसिएसनका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले तोपका गोलासँगै अन्य घातक हतियारहरू पनि भेटिएको जनाएका थिए ।
ती हतियारको अवस्था हेर्दा भौतिक संरचना ध्वस्त पार्न तालिमप्राप्त समूहले आक्रमण गरेको आशंका गरिएको छ । यसको अवस्थाबारे नेपाल प्रहरीले अनविज्ञता प्रकट गरेको छ ।