तेहरानमा पानीको हाहाकार, जल सतह अहिलेसम्मकै न्यून बिन्दुमा


२०८२ भदौ २२ आइतबार १२:०५ बजे

काठमाडौं । इरानको राजधानी तेहरानमा पानीको हाहाकार भएको छ । एक करोड मानिस बस्ने तेहरानमा पानीका धारा बन्द भएपछि जनजीवन नराम्ररी प्रभावित भएको छ ।

इरानमा पानीको अभाव र बारम्बार विद्युत् आपूर्ति अवरुद्ध हुने समस्याले मानिसहरू निराश बनेको बीबीसीले जनाएको छ ।

राजधानीका अग्ला आवासीय भवनहरूदेखि खुजेस्तान र सिस्तान-बलुचिस्तानका गाउँहरूसम्म सहन गाह्रो हुने गरी जनजीवन प्रभावित भइरहेको छ।

लगातार पाँच वर्षको सुक्खा र उच्चबिन्दुमा पुगेको गर्मीपछि महानगरका धाराहरू सुक्ने अवस्थातर्फ जाँदै छन्।

जलाशयमा पानीको सतह अहिलेसम्मकै न्यून बिन्दुमा पुग्ने गरी घट्दै छ। बिजुली नियमित रूपमा जान्छ र मानिसहरूको धैर्यको बाँध भत्किन थालेको छ।

पानीको प्रयोग उल्लेख्य रूपमा नघटाइएमा केही साताभित्र कतिपय क्षेत्रले ‘डे जीरो’ अर्थात्‌ घरका धारा पालैपालो बन्द गर्ने अनि स्ट्यान्डपाइप अथवा ट्याङ्करमार्फत् पानी वितरण हुने अवस्थाको सामना गर्नुपर्ने हुन सक्ने अधिकारीहरूले चेतावनी दिएका छन्।

यो चेतावनी प्रचण्ड गर्मी र इरानको पुरानो विद्युतीय ग्रिडमाथि बढ्दो दबावका कारण आएको हो।

पानीका लागि तेहरान पाँचवटा जलाशयमा भर पर्छ। तीमध्येको लार बाँध एकदमै सुकेको छ। उक्त जलाशय सामान्य क्षमताको एक प्रतिशतमा मात्र सञ्चालन भइरहेको त्यसको व्यवस्थापन गर्ने कम्पनीले जनाएको छ।

गत वर्षयता लामो समयदेखिको औसतभन्दा ४०/४५ प्रतिशतले कम पानी परेको आधिकारिक तथ्याङ्कले देखाउँछ।

केही प्रान्तहरूमा ७० प्रतिशतभन्दा बढीले कम वर्षा भएको पाइएको छ। 

इरानको भूमिगत पानी सन् १९७० को दशकयता अत्यधिक रूपमा प्रयोग भएको छ। कतिपय अनुमानका अनुसार ७० प्रतिशतभन्दा बढी भण्डारण सकिएको छ।

कतिपय जिल्लाहरूमा जमिन हरेक वर्ष २५ प्रतिशतले भासिँदै छ। त्यसले पानीको ह्रासलाई अझ तीव्र पार्छ।

पानीको हाहाकार हुन थालेपछि मानिसहरू सडकमा निस्किएर सरकार विरुद्ध प्रदर्शन गर्न थालेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७