गंगा सोनम बनिन् छैटौं नेपाल आइडल

काठमाडौं । सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ को छैटौं संस्करणको उपाधि गंगा सोनमले जितेकी छिन् । ललितपुरमा हिजो साँझ भएको ग्रान्ड फिनालेमा सिन्धुपाल्चोककी सोनम विजेता घोषित भएकी हुन् ।
अनलाइन भोटिङका आधारमा उनलाई विजेता घोषणा गरिएको हो । विजेता बनेसँगै उनले नगद २५ लाख रुपैयाँ हात पारेकी छन् । यस पटकको फिनालेमा सोनमसहित सिक्किमबाट बबिता थापा मगर, दार्जिलिङबाट अभिनय खाती, चितवनबाट दर्शना गान्धारी र काठमाडौँबाट मृनल मानन्धर भिडेका थिए ।
यस सिजनमा बबिता थापा मगर फस्र्ट रनर अप र दर्शना गान्धारी सेकेन्ड रनरअप घोषित भइन् । फस्र्ट रनर अपले १० लाख र सेकेन्ड रनर अपले ५ लाख पुरस्कार पाएका छन् । अभिनय खाती चौथो बन्दा मृनल मानन्धर पाँचौ बनिन्। उनीहरू दुवैले १ लाख रूपैयाँ पुरस्कार जिते ।
सुरेश पौडेल र एलेन श्रेष्ठ निर्देशक रहेको यस कार्यक्रममा निर्णायकको भूमिकामा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए। नेपाल आइडलको पहिलो विजेता बुद्ध लामा हुन् । त्यसपछि दोस्रो सिजनमा रवि ओडले जित्दा तेस्रो सिजनमा सज्जा चौलागाईं विजेता घोषित भइन् । चौथोमा भुपेन्द्र थापा मगरले उपाधि जित्दा करण परियार पाँचौँ संस्करणको विजेता बनेका थिए ।